अमलेखगन्जमा १८ हजारभन्दा बढी लागूऔषध ट्रामाडोलसहित एक जना पक्राउ

सिमराः बारा प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका १६ का अन्दाजी १९ वर्षीय आनन्द चौरसिया रहेका छन् ।
प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगन्जमा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ७६२३ नम्बरको यात्रुवाहक बसलाई रोकेर जाँच गरेको थियो ।
जाँचका क्रममा बसको हुड र्याकमा रहेका दुईवटा झोलाबाट १८ हजार तीन सय थान ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरिएको हो ।
बरामद लागूऔषधसहित पक्राउ परेका चौरसियालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।







