कोल्हबीबाट भरुवा बन्दुक, हरिणको छाला र चिरान काठ बरामद


eShilalekh

२४ भाद्र २०८३, बुधबार २०:४३

सिमराः बाराको कोल्हबीबाट वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बुधवार दुई थान भरुवा बन्दुक, हरिणको छाला र अवैध चिरान काठ बरामद गरेको छ ।

कोल्हबी नगरपालिका–२ स्थित बाँध टोलका रामविनोद तत्माको घरबाट गोली भरिएको दुई थान बन्दुक, हरिणको छाला, धनेस चराको जस्तो चुच्चो देखिने वस्तु, वन्यजन्तु चोरीशिकारीका लागि प्रयोग हुने पासो र चिरान काठ बरामद गरिएको हो ।

अवैध गतिविधि भईरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोल्हबी र सशस्त्र प्रहरी बल सुरेक्षा बेस कोल्हबीको सुरक्षाकर्मीसहित वन कार्यालयका कर्मचारी र वन रक्षकको टोली तत्माको घरमा पुगेको थियो । घरको मुख्य गेटमा लगाइएको ताला फुटाएर हेर्ने क्रममा लुकाएर राखेको अवस्थामा उक्त वस्तुहरु बरामद भएको हो ।

अवैध सामग्री फेला परेपनि घरका सदस्य फरार छन् ।  उनीहरुको खोजी अघि बढाइएको बाराका प्रहरी प्रवक्ता मिनबहादुर घलेले जानकारी दिएका छन् । उक्त घरबाट अवैध हातहतियारको प्रयोग गरी वन्यजन्तुको शिकार, काठको चोरीतस्करी हुने गरेको खुलेपछि प्रहरी र वन कार्यालयले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्