सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल अगाडि सडकपेटीमै महिलाले शिशु जन्माइन्

सिमराः सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल बाहिर सडकपेटीमा एक गर्भवती महिलाले शिशुलाई जन्म दिएकी छन् । महिलाले सडकको पेटीमा शिशुलाई जन्म दिएको सिसिटिभी फुटेजको भिडियो अहिले सामाजिक सञ्जामा भाइरल भईरहेको छ ।
उक्त भिडियो बुधबार बिहान करिब ४ः३० बजेको रहेको बताइएको छ । भिडियोमा देखिएको उक्त दृश्यलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भईरहेको छ । प्रारम्भिक जानकारी अनुसार ती महिला प्रसव पीडापछि भर्ना हुन अस्पताल पुगेकी थिइन् । अस्पतालमा उनलाई विभिन्न जाँच गराउन भनिएको र जाँच गराउने पैसा नभएपछि उनी बाहिरिएको थिइन् ।
अस्पतालबाट बाहिरिएको दुई घण्टापछि महिलाले सडक पेटीमा शिशुलाई जन्म दिएको भिडियोमा देखिन्छ । भिडियो बाहिरिएसँगै अस्पतालका कर्मचारीले गम्भीर लापरवाही गरेको भन्दै छानविनको माग भईरहेको छ ।
विपन्न महिलाले पैसा नभएकै कारण अस्पतालबाट फर्कनु परेको अवस्था अत्यन्तै गम्भीर विषय रहेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ । उक्त अस्पताल संघीय सरकार मातहत छ ।







