जनकपुरबाट काठमाडौँ जाँदै गरेको बसमा लागूऔषध खैरो हेरोइन बरामद, पाँच जना पक्राउ

जनकपुर: जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट प्रहरीले लागूऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय थानकोट र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त प्रहरी टोलीले शुक्रबार नियमित जाँचका क्रममा चन्द्रागिरि नगरपालिका २ स्थित सुरुङमार्गबाट तीन जना भारतीय नागरिकलाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहार प्रदेश, समस्तीपुर वडा नं. २५ ठेगाना भएका १९ वर्षीय पुष्पम प्रकाश, २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार रहेका छन्।
उनीहरूमाथि गरिएको थप अनुसन्धानका क्रममा उक्त खैरो हेरोइन खरिद गर्न आएका अन्य दुई जनालाई प्रहरीले काठमाडौँ महानगरपालिका वडा नं. २२ सुन्धारास्थित एक होटलबाट पक्राउ गरेको छ। सुन्धाराबाट पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका वडा नं. ६ ठेगाना भएकी २३ वर्षीया कृष्टी खड्की र २५ वर्षीय रामकृष्ण खड्की रहेका छन्।
प्रहरीले अभियुक्तहरूको साथबाट ३२.७३० ग्राम खैरो हेरोइनका साथै १,११० क्याप्सुल ट्रामाडोल, ८ थान मोबाइल र ७५,२२० रुपैयाँ नगद समेत बरामद गरेको छ। पक्राउ परेका पाँचैजनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।







