हातेमालो सहकारीको १९औं वार्षिक साधारणसभा सम्पन्न

सिमराः बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सिमरास्थित थानीमाई वन उपभोक्ता समूहको सभाहलमा आयोजित साधारणसभाको उद्घाटन ९५ वर्षीय जेष्ठ नागरिक देवीदत्त लम्सालले गरेका थिए ।
कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीका साथै विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने संस्थाका सदस्यहरू र हातेमालोमा आवद्ध व्यक्तिहरूलाई अतिथिका रूपमा आमन्त्रण गरिएको थियो । कार्यक्रममा शंकरकुमार आचार्य, दिनेश राई, दामोदर पौडेल, हेमनारायण चौधरीलगायत उपस्थित थिए ।
साधारणसभामा संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रामचन्द्र पौडेलले सहकारीलाई अझ सबल, पारदर्शी र उत्तरदायी बनाउन चालु आर्थिक वर्षका लागि विभिन्न कार्ययोजना प्रस्तुत गरेका थिए । कार्ययोजनामा उत्पादनशील क्षेत्रमा लगानी बढाउने, निष्कृय सदस्यता अन्त्य गर्ने, डिजिटल बैंकिङ र साइबर सुरक्षालाई सुदृढ बनाउने रणनीति समेटिएको छ ।

अध्यक्ष पौडेलले सूचना नदिई विगत पाँच वर्षदेखि कुनै कारोबार नगर्ने र साधारणसभामा समेत सहभागी नहुने सदस्यहरूलाई सहकारी ऐन २०७४ को दफा ३४ (१) (ख) बमोजिम सदस्यता अन्त्य गरी हिसाब फरफारक गर्न लागिएको जानकारी दिए । उनले कोर बैंकिङ्ग सफ्टवेयर, क्युआर भुक्तानी तथा मोबाइल बैंकिङ्ग प्रणालीको विस्तार गर्दै नियमित साइबर सुरक्षा परीक्षणको तयारी संस्थाले गरेको बताए ।
२०६४ साल जेठ २० गते स्थापना भई हाल एउटा मुख्य कार्यालय र दुई वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको हातेमालोमा चार हजार दुई सय शेयर सदस्य र सात सय ३५ जना बालसदस्य आवद्ध छन् ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा कोषाध्यक्ष पेशल मुल्मीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव चुडामणी गौतम (राजु) ले गरेका थिए ।







