पर्साको ठोरीमा भारतीय युवकको शव फेला, अनुसन्धान जारी

वीरगन्जः पर्साको ठोरी गाउँपालिका-३ स्थित बुद्धनगरको ओडारखोला बगरमा एक भारतीय युवकको शव फेला परेको छ।
भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाको इनरवा क्षेत्रस्थित खमियाका २० वर्षीय इरसाद आलमको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
घटनाको सूचना पाएलगत्तै प्रहरीले शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाएको थियो। पोस्टमार्टम पश्चात मृतकका आफन्तलाई शव जिम्मा लगाइएको छ।
मृतक आलम चार दिनदेखि परिवारको सम्पर्कमा नरहेका र स्थानीय गोलु ठाकुरसँगै नेपालतर्फको ठोरी आएको आफन्तले बताएका छन्।आफन्तले दिएको जानकारीका आधारमा भारतको इनरवा प्रहरीमा ठाकुरविरुद्ध किटानी जाहेरी परेको छ।
जाहेरी परेपछि भारतीय प्रहरीले ठाकुरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। युवकको मृत्युको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन। यस घटनामा कसैको संलग्नता रहेको छ वा छैन भन्ने विषयमा नेपाल र भारत दुवैतर्फका सम्बन्धित प्रहरी निकायले गम्भीरतापूर्वक थप अनुसन्धान गरिरहेका छन्।







