टेक्सासमा दोस्रो एनएसटी कप भलिबल प्रतियोगिता हुने


रामप्रसाद अधिकारी

४ मंसिर २०८३, शुक्रबार २०:२८

टेक्सास (अमेरिका): नेपाली समाज टेक्सासको आयोजनामा दोस्रो एनएसटी कप भलिबल प्रतियोगिता सन् २०२६ नोभेम्बर २८ र २९ तारिख अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थमा आयोजना हुने भएको छ । नेपाली समुदायबीच आपसी सद्भाव, एकता र खेलकुदको विकास गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको यो प्रतियोगिता फोर्ट वर्थस्थित ३३०० ब्रायन्ट इर्भिन रोडमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा विजेता टोलीले पाँच हजार अमेरिकी डलर नगद पुरस्कारसहित ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेता टोलीले दुई हजार अमेरिकी डलर नगद पुरस्कारसहित ट्रफी र पदक पाउनेछ । सहभागी हुन इच्छुक टोलीका लागि दर्ता शुल्क प्रतिटोली चार सय अमेरिकी डलर तोकिएको छ भने टोली दर्ता गर्ने अन्तिम मिति नोभेम्बर २०, २०२६ रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितालाई प्रतिस्पर्धात्मक, व्यवस्थित र सन्तुलित बनाउन आयोजकले तोकिएका प्रमुख खेलाडीहरूलाई अलग-अलग टोलीमा खेलाउनुपर्ने नियमसमेत राखेको एनएसटीका अध्यक्ष विजय भुषालले जानकारी दिए । भुषालका अनुसार प्रतियोगितासम्बन्धी थप जानकारी तथा टोली दर्ताका लागि उजित अधिकारी, नारायण क्षेत्री, तेजिन्द्र थापा र दुर्गेश बोगटीलाई सम्पर्क गर्न सकिनेछ।

खेलकुदमार्फत नेपाली समुदायलाई एकताबद्ध गर्दै प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने यस प्रतियोगिताले टेक्सास र अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्नुहुने नेपाली खेलप्रेमीहरूलाई उत्साहित बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्