पथलैयास्थित प्रदेश ट्राफिक कार्तिक महिनामा देशभरिमै उत्कृष्ट, जिप्रका बारा पाँचौं

सिमराः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय मधेस प्रदेशको कार्यालय कार्तिक महिनाको कार्यसम्पादन मूल्याङ्कनमा देशभरिमै उत्कृष्ट ठहरिएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको कार्तिक महिनाको कार्यसम्पादन प्रतिवेदनअनुसार मधेस प्रदेश ट्राफिक कार्यालयले ८० पूर्णाङ्कमा ६७.९० अंक अर्थात् ८४.८८ प्रतिशत अंक प्राप्त गर्दै देशभरमै पहिलो स्थान हासिल गरेको हो ।
कार्यसम्पादनमा निरन्तर सुधार गर्दै आएको पथलैयास्थित ट्राफिक कार्यालय भदौ महिनामा छैठौं स्थानमा रहेको थियो भने असोज महिनामा तेस्रो स्थानमा उक्लिएको थियो । कार्तिक महिनामा भने अन्य सबै प्रदेश कार्यालयहरूलाई पछि पार्दै उत्कृष्ट बन्न सफल भएको हो ।
यस मूल्याङ्कनमा मधेस प्रदेश पहिलो हुँदा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया दोस्रो, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तेस्रो, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल चौथो तथा सुर्खेत कार्यालय पाँचौं स्थानमा रहेका छन् ।
यसैगरी नेपाल प्रहरीको कार्तिक महिनाको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय बारा देशभरका समूह ‘ख’ अन्तर्गतका १५ जिल्लाहरूमध्ये पाँचौं भएको छ । बाराले पनि आफ्नो कार्यसम्पादनमा क्रमिक सुधार गर्दै लगेको देखिएको छ । भदौ महिनामा १२औं स्थानमा रहेको बारा असोज महिनामा छैठौं स्थानमा आएको थियो भने कार्तिकमा एक स्थान सुधार गर्दै पाँचौं बनेको हो ।
समूह ‘ख’ का जिल्लाहरूमध्ये कार्तिक महिनामा रौतहट पहिलो स्थानमा रहँदा दाङ दोस्रो, नवलपरासी पश्चिम तेस्रो र कञ्चनपुर चौथो स्थानमा रहेका छन् । बारा पाँचौं स्थानमा रहँदा बर्दिया, सिरहा, भक्तपुरलगायतका जिल्लाहरू बाराभन्दा पछि परेका छन् ।






