राप्रपाको जीतपुरसिमरा नगर अधिवेशन माघ ५ गते, खरेलले नेतृत्व सम्हाल्ने

सिमराः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जीतपुरसिमरा नगर कमिटीको अधिवेशन माघ ५ गते हुने भएको छ । केही समयदेखी अधिवेशनको तयारी गरिरहेको राप्रपाले अधिवेशनको मिति तय गरेको हो ।
जीतपुरसिमरा २ स्थित वडा कार्यालय अगाडि हुने अधिवेशनमा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित ज्ञानेन्द्र शाही, खुश्बु ओलीलगायतका नेता सहभागी हुने बताइएको छ । अधिवेशन केन्द्रीय अध्यक्ष लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ ।
अधिवेशन सम्पन्न गर्न राप्रपाका नगर र वडाभित्रका नेता कार्यकर्ता उत्साहित भएर तयारीमा लागिरहेका छन् । अधिवेशनमा जीतपुरसिमराको २४ वटै वडाबाट प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नगर स्तरीय नेतालाई समेत निमन्त्रणा गरिने राप्रपाका नेता महेश खरेलले जानकारी दिएका छन् ।
राप्रपा नगर कमिटीको नेतृत्व गर्ने तयारीमा रहेका खरेलले अधिवेशनको तारताम्य मिलाईरहेका छन् । उनको अग्रसरतामा नगर अधिवेशनको तयारी भईरहेको छ । अधिवेशन उत्साहजनक र भव्यरुपमा सम्पन्न गर्ने खरेलले बताए ।
लामो समय मलेसियामा आफ्नै व्यवसाय गर्दै आएका खरेल राप्रपाको नगर कमिटीको नेतृत्व गर्ने तयारीमा छन् । राप्रपाका स्थानीय नेताका अनुसार माघ ५ गते हुने अधिवेशनले खरेलको नेतृत्वमा नगर कमिटी चयन गर्ने लगभग तय छ ।
राप्रपालाई नयाँ उचाईमा लैजाने उदेश्यसहित सक्रिय राजनीतिमा प्रवेश गर्न लागेका खरेलले २०८४ सालको निर्वाचनमा जीतपुरसिमराको नगर प्रमुखमा उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।