निजगढमा गुञ्जियो पोखरेली साहित्य


eShilalekh

१३ असार २०७८, आईतवार ०३:३३

निजगढ : प्रणयः गजलका लागि चर्चित छन्, प्रकट पंगेनी अर्थात् शिवराज। देशका विभिन्न स्थानमा पुगेर प्रेमका श्रृंगारिक गजल प्रस्तुत गर्ने प्रकट शनिबार निजगढ आइपुगे। महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा राखिएको साहित्यिक जमघटमा उनको उपस्थितिले निजगढ साहित्यमय बन्न पुग्यो। 

प्रकटसँगै पोखराका २० भन्दा बढी साहित्यिक श्रष्टा निजगढमा आइपुगेका थिए। साहित्य परिषद्को निम्तोमा आइपुगेका श्रष्टाको साहित्यिक सिर्जना सुन्न स्थानीयको बाक्लै उपस्थिति थियो । 

निजगढ घर भई पोखरामा व्यवसाय गर्दै आएका माधव खतिवडाको संयोजनमा आइपुगेका श्रष्टामा गजलकार आवाज शर्मा, शिव त्रिपाठीसमेत सहभागी थिए। स्थानीयस्तरमा पोखरा–निजगढ साहित्यिक यात्राको संयोजन रमेश रशिकले गरेका थिए। 

साहित्यको माध्यमबाट आपसी सद्भाव, सामाजिक रूपान्तरण र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशासहित यात्राको आयोजना गरिएको रशिकको भनाइ थियो। 

कार्यक्रममा पोखरा र निजगढका ४० भन्दा बढी श्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। गजलकार पंगेनीले निजगढमा देखिएको साहित्यप्रतिको रुचीले आफूलाई खुशी तुल्याएको बताए। साहित्यमा रुची राख्ने युवाको उपस्थिति कार्यक्रममा बढी थियो। युवाको उपस्थितिले उत्साहित प्रकटले गजल यसरी सुनाए। 


जस्तो साइनो लाउन मन छ, त्यस्तै लगाऊ तिम्रो खुसी
पिउने आखिर म छँदैछु जे जे मगाऊ तिम्रो खुसी
आउँदा–आउँदै अबेर भयो, साझ प¥यो म के गरुँ?
अँध्यारोमै राख या त सन्ध्या जगाऊ तिम्रो खुसी 


प्रकटको गजलले शान्त बनेको हल एकाएक तालिले गुञ्जमान बन्यो। उनको हरेक प्रस्तुतीमा दर्शक र स्रोताले ‘वान्स मोर’ भन्दै चिच्याए। समय अभावका कारण छोटो प्रस्तुति दिएका प्रकटले उपस्थित दर्शकको मन जिते। उनले आफ्नो प्रणयसँग सम्बन्धित गजललाई सहज रूपमा बुझिदिन आग्रह गरे। 

निराशभन्दा पनि प्रणयका गजल दर्शक, स्रोतालाई मन पर्ने र आफूलाई पनि यस्तै गजल लेख्न बढी रुची लाग्ने प्रकटको भनाइ थियो। 

कार्यक्रममा प्रकटअघि शर्मा र त्रिपाठीले आफ्ना सिर्जना सुनाए। सोही कार्यक्रममा सहभागी पूर्वमन्त्री पुरुषोत्तम पौडेलले पनि आफ्नो सिर्जना प्रस्तुत नगरी बस्न सकेनन्। भष्ट्राचारका कारण मुलुकले विकास गर्न नसकेको भन्दै पूर्वमन्त्री पौडेलले ‘म भष्ट्राचार गर्दिनँ’ शीर्षकमा आफ्ना गजल प्रस्तुत गरे। 

कार्यक्रममा साहित्यिक यात्राका सहभागी दुर्गाकिरण तिवारी, मनु शर्मा, मैनाली उल्लास, लक्ष्मी शाही ठकुरी, अन्जु सापकोटा, सर्वशिखा, सिर्जना ढकाल, सविता बराल, साहित्यिक चौतारी नेपालकी महासचिव गीता देवकोटालगायतले आफ्नो रचना प्रस्तुत गर्दा स्थानीय  अशोक कुँवर नेत्र, अविनाश थापा, अविनाश सापकोटा, पवित्रा बजगाईँ, मुकेशकुमार साह, अभिशेक ओझा, पवित्रा रुन्ची, प्रभाकर तिमिल्सिना, अजयकुमार उप्रेती, नारायण गौतमलगायतले आफ्ना सिर्जना सुनाएका थिए। 

प्रतिक्रिया दिनुहोस्