शेर्पालाई पन्छाउदै एपीएफ सेमिफाईनलमा प्रवेश


eShilalekh

१३ चैत्र २०७८, आईतवार २२:१५

सिमरा: सशस्त्र प्रहरीको एपीएफ क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । सिमरा रंगशालमा आईतवार भएको दोस्रो क्वार्टरफाईनल खेलमा हिमालयन शेर्पालाई ३-२ ले स्तब्ध पार्दै एपीएफ सेमिफाईनलमा प्रवेश गरेको हो ।

एपीएफको जीतमा दीपेश धिमाल, बिके तामाङ र अर्मान्ड बेडमले एक/एक गोल गरे । शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले दुई गोल फर्काए ।

पहिलो हाफको १० मिनेट आक्रामक खेल प्रदर्शन गरेको शेर्पाविरुद्ध एपीएफले खेलको २७औं मिनेटमा अग्रता बनाएको थियो । नविन लामाको कर्नर बललाई सदुपयोग गर्दै दीपेश धिमालले एपीएफका गोल गरेका थिए । खेलमा अग्रता लिएको केही मिनेटमै एपीएफले दोस्रो गोल थप्यो ।

नविनकै क्रस बललाई सदुपयोग गर्दै एपिएफका बिके तामाङले गोल गरे । उनको गोलसंग एपीएफ खेलमा २-० को स्थितीमा पुग्यो । एपीएफले दुई गोलको अग्रता लिएपछि दवावमा शेर्पा दवावमा देखियो । खेलमा प्राप्त केही राम्रा अवसर गुमाउन पुग्दा शेर्पाले दवाव खेप्नुपरेको हो । खेलको ३३औं मिनेटमा शेर्पाका दुई खेलाडी बिकास मेराग्लियाले र अजिज ओलावाले गोल गर्ने अवसर गुमाए । डिबक्स भित्र पाएको बलमा दुवै खेलाडी गोल गर्न चुके ।

पहिलो हाफमा खेलमा फर्कने केही अवसर गुमाएको शेर्पाले खेलको ५० मिनेटमा गोल अन्तर घटायो । एपीएफका दीपेश धिमालले बिकास मेराग्लियालाई डिबक्सभित्र लडाएपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले शेर्पालाई पेनाल्टीको अवसर दिए । पेनाल्टीमा शेर्पाका कप्तान विश्वास श्रेष्ठले उत्कृष्ट गोल गरे । उनको प्रहार एपीएफका गोलरक्षक युया कुरियामोले नियन्त्रणमा लिन सकेनन् ।

घरेलु दर्शकको समर्थन पाएको शेर्पाले गोलअन्तर घटाएपछि प्रतिस्पर्धा रोमाञ्चक बन्न पुग्यो । उत्कृष्ट तालमेलमा देखिएका दुबै टिमको आक्रामक प्रदर्शनले दर्शकलाई उत्साहित बनाएको थियो । शेर्पाले गोल फर्काएको केही समयमै एपीएफले पुनः गोलअन्तर बढायो । ५६औं मिनेटमा प्रदीप लामाको क्रसमा अर्माण्ड बेडमले गोल गरेका हुन् । बेडमको गोलपछि एपिएफ ३-१ को स्थितीमा पुग्यो ।
एपीएफले बढाएको अग्रतालाई शेर्पाले ६८औं घटाउदा खेलमा पुनः रौनकता थपियो । कप्तान विश्वास श्रेष्ठले डिबक्स बाहिरबाट शानदार गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । उनको गोलले खेल ३-२ को स्थितीमा पुगेको थियो । विश्वासको गोलले एपीएफले अन्तिम समय दवाव झेल्नुपर्‍यो ।

अन्तिम समय एपीएफ रक्षात्मक र शेर्पा आक्रामक बनेका थिए । शेर्पाको लगातार प्रयासलाई असफल तुल्याएको एपीएफले जीतका लागि अन्तिम समयसम्म संघर्ष गर्नुपर्‍यो ।  खेलको ७१औं मिनेटमा शेर्पाका सत्यम शर्माको प्रहार क्रसबारमा ठोक्किएर फर्कियो । त्यसको केही समयमै अजिजले गरेको प्रहार गरेको बल एपीएफका गोलरक्षकले आकर्षक बचाउ गर्दा शेर्पाले दुई राम्रा अवसर गुमायो ।

रक्षात्मक देखिएको एपीएफले पनि खेलको अन्तिम समयमा एउटा अवसर खेर फाल्यो । एपीएफका प्रदीप लामा खाली पोष्ट गोल गर्न चुके । शेर्पाका गोलरक्षक समेत बिट भएको अवस्थामा प्रदीपले फितलो प्रहार गरे । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।

अन्तिम समयमा आकर्षक अवसर गुमाएको एपीएफले अन्ततः ३-२ को जित निकाल्यो । एपीएफको जितमा एक गोल गरेका अर्माण्ड खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार आयोजक नव जनजागृति युवा क्लब र सुदूपश्चिम ११ बीच तेस्रो क्वार्टरफाईनल खेल हुनेछ ।

फ्रेण्ड्स क्लबलाई उद्घाटन खेलमा पराजित गर्दै सुदूरपश्चिम प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको थियो । आयोजकका लागि भने सुदूरपश्चिमसंगको खेल प्रतियोगिताको पहिलो हुनेछ ।

नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ । प्रतियोगिता चैत्र १९ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्