जगदम्बा जीतपुरसिमरा गोल्डकप: आयोजक नव जनजागृति सेमीमा


eShilalekh

१४ चैत्र २०७८, सोमबार २३:०८

सिमरा: धनगढीको सुदूरपश्चिम ११ लाई स्तब्ध पार्दै आयोजक नव जनजागृति युवा क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंशगालामा सोमबार भएको खेलमा जनजागृतिले सुदूरपश्चिममाथी १-० को रोमाञ्चक जित निकालेको हो । प्रतिस्पर्धात्मक खेलमा जनजागृतिका लागि सुनिल खड्काले निर्णायक गोल गरे । खेलको ५०औं मिनेटमा सुनिले गरेको आकर्षक गोलनै जनजागृतिका लागि बिजयी गोल भयो ।

घरेलु मैदानमा स्थानियसहित ए डिभिजन क्लबका खेलाडी लिएर मैदानमा उत्रिएको आयोजक बलियो देखियो । ए डिभिजनको फ्रेण्ड्स क्लबलाई उद्घाटन खेलमा ३-१ ले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिमको यात्रा भने आयोजकसंगको भिडन्तपछि सकिएको छ ।

आयोजकको खेल हेर्न सिमरा रंगशाला घरेलु दर्शकले भरिएको थियो । पाँच हजार भन्दा बढी घरेलु दर्शकलाई निराश हुन नदिएको आयोजकले सूदुरपश्चिमविरुद्ध प्रशंसा गर्न लायक खेल प्रदर्शन गरेको थियो । खेलको सुरुवातदेखीनै आयोजक हाबी देखियो ।

सुदूरपश्चिमले खेलको सुरुवातमै पाएको एउटा अवसर गुमाउन पुग्दा लामो दुरी तय गर्दै बारा आएको टिम निराश बन्न पुग्यो । सुदूरपश्चिका लागि खेलको दोस्रो मिनेटमा विनोद केसीले उत्कृष्ट अवसर गुमाए । डिबक्स भित्र पाएको बललाई उनले सदुपयोग गर्न सकेनन् । बल नियन्त्रणमा लिन नसकेका विनोदले आकर्षक प्रहार गर्न नसक्दा आयोजकविरुद्ध अग्रता लिने अवसर गुमाएको थियो ।

पहिलो अवसर गुमाएपछि सुदूरपश्चिमले राम्रा अवसर सिर्जना गर्न सकेन् । आयोजक भने त्यसपछि लयमा देखियो । खेलको १०औं मिनेटमा आयोजकका सुनिल खड्काको प्रहार क्रसबार माथीबाट बाहिरियो । लगत्तै सुनिलले अर्को अवसर गुमाए । डोना थापाले सुदूरपश्चिमका रक्षापंक्तीलाई बिट गर्दै निकालेको पासमा सुनिल गोल गर्न चुके । उनको प्रहार फितलो देखिएको थियो ।

ए डिभजिन क्लबबाट खेल्ने नाम चलेका डोना थापा, हेमन्त थापा मगरसहित मैदानमा देखिएको आयोजकले खेलको २७औं मिनेटमा अर्को अवसर गुमाएको थियो । डोनाको क्रस बललाई मोहित गुरु»ले सदुपयोग गर्न सकेनन् । दुई बिदेशी खेलाडीलाई समेत मैदानमा उतारेको आयोजकले स्थानिय खेलाडीलाई समेत प्रशिक्षक सोनु क्षेत्रीले टोलीमा सहभागी गराएका थिए ।

खेलमा उत्कृष्ट तालमेलमा देखिएको आयोजकविरुद्ध खासै अवसर बनाउन नसकेको सुदूरपश्चिमले खेलको ३४औं मिनेटमा पाएको एउटा अवसरलाई गोलरक्षक सन्तोष महतले बिफल तुल्याएका थिए । सुदूरपश्चिमका पासाङ लामाले खेलको ३४औं मिनेटमा गरेको प्रहारलाई महतले सहजै नियन्त्रणमा लिए ।

दुई अफ्रिकी मुलका खेलाडीले सम्हालेको रक्षापंक्तीको घेरा तोड्न सुदूरपश्चिमका खेलाडी सफल हुन सकेनन् । जनजागृतिले दोस्रो हाफमा पनि उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । दोस्रो हाफको सुरुवातमै आयोजकले खेलमा अग्रता लिएको थियो । झण्डै ३० यार्ड टाढाबाट सुनिल खड्काले प्रहार गरेको बलले सिधै जाली चुमको थियो । सुदूरपश्चिमका गोलरक्षक आकाश बुढा अगाडी बढेको मौकाको फाईदा उठाउदै सुनिलले टाढैबाट बल प्रहार गरेका थिए ।

सुनिलको गोलले उत्साहित आयोजकका खेलाडीले त्यसपछि पाएका केही अवसर चुकाए । खेलको ८३औ मिनेटमा डोना थापाले गरेको उत्कृष्ट प्रहारलाई सुदूरपश्चिमका गोलरक्षक आकाश बुढाले नियन्त्रण लिए । डोनाले खेलमा पहिलो हाफ र दोस्रो हाफमा गोल गरेपनि रेफ्री नविन्द्र महर्जनले मान्यता दिएनन् । उनको दुवै गोल अफसाईड घोषित गरिएको थियो ।

खेलको अन्तिम समयमा आक्रामक देखिएको सुदूरपश्चिमले केही अवसर खेर फाल्दा आयोजकले प्रतियोगितामा पहिलो जित हात पा¥यो । सुदूरपश्चिमका टिम मेनेजरले निर्धारित ९० मिनेटपछि थपिएको ईन्जुरी समयमा रातो कार्ड पाएका थिए । रेफ्रीसंग वादविवाद परेपछि नविन्द्र महर्जनले रातो कार्ड देखाउदै मेनेजर अनिल कठायतलाई मैदान बाहिर पठाएका हुन् ।

सुदूरपश्चिमविरुद्ध निर्णायक गोल गरेका सुनिल खड्का खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ट्रफी र पाँच हजार नगद पुरस्कार प्राप्त गरे । आयोजकले अब फाईनल प्रवेशका लागि एनआरटीसंग प्रतिस्पर्धा गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्