संकटा स्तब्ध, बाग्मती सेमिफाईनलमा


eShilalekh

१५ चैत्र २०७८, मंगलवार २२:३८

सिमरा: साविक बिजेता संकटा क्लबमाथी महत्वपूर्ण जित हात पार्दै बाग्मती युवा क्लब, सर्लाही सिमरामा जारी जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालमा मंगलवार भएको अन्तिम क्वार्टरफाईनल खेलमा संकटामाथी १-० को जित निकाल्दै बाग्मतीले अन्तिम चारको यात्रा तय गरेको हो । आयोजक नव जनजागृतिको जर्सी लगाएर मैदानमा उत्रिएको बाग्मतीले जितेसंगै गोल्डकपको सेमिफाईनलको समिकरण पूरा भएको छ । बाग्मतीले अब फाईनल प्रवेशका लागि बिभागिय टिम एपिएफ क्लबसंग खेल्नेछ । हिमालयन शेर्पालाई ३-२ ले पराजित गर्दै एपिएफ क्लब यसअघि नै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरिसकेको छ ।

प्रतिस्पर्धात्मक भिडन्तको अतिरिक्त समयमा गोल गर्दै बाग्मतीले संघर्षपूर्ण जित निकालेको हो । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको २७औं मिनेटमा बाग्मतीका लागि अनिल रानामगरले निर्णायक गोल गरेका हुन् । डिना गुरुङले प्रहार गरेको फ्रिकिक बलमा अनिलले बिजयी गोल गरेका थिए ।
बाग्मतीको तुलनामा उत्कृष्ट खेल प्रदर्शन गरेपनि फिनिसिङमा चुकेको संकटा अन्तत पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको छ । संकटाले खेलको सुरुवातदेखी बाग्मतीमाथी दवाव सिर्जना गरेको थियो । अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको संकटाले पहिलो हाफमा बनाएको केही अवसर गुमायो ।

खेलको ३५औं मिनेटमा फोडे फोफनाको क्रसमा संकटाका दीपेश आले मगरले राम्रो अवसर गुमाए । डिबक्स भित्र फोफनाले मिलाएको पासलाई दीपेशले नियन्त्रणमा लिन सकेनन् । उनको प्रहार फितलो बन्न पुग्यो ।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको ईन्जुरी समयमा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए । खेलाडीबीचको विवादमा अपशब्द प्रयोग गरेको भन्दै रेफ्री प्रकाशनाथ श्रेष्ठले दुवै टिमका प्रशिक्षकलाई रातो कार्ड देखाउदै बाहिर पठाएका थिए । रातो कार्ड पाएपछि आक्रोशित बनेका संकटाका प्रशिक्षक सल्यान खड्कीले कुर्सी समेत भाचेका छन् । रातो कार्ड पाएपछि मैदान बाहिर जादै गर्दा खड्गीले कुर्सी फ्याकेका थिए ।

दोस्रो हाफमा दुवै टिम प्रशिक्षकविहिन अवस्थामा खेलेका थिए । करिब चार हजार घरेलु दर्शकको उपस्थिती रहेको रंगशालमा संकटा दोस्रो हाफमा पनि हावी देखियो । खेलको ६२औं मिनेटमा संकटाका फोफना वन भर्सेस वनको अवस्थामा चुके । उनको प्रहार पोष्टमा ठोक्किएर फर्कियो । लगत्तै यानिकले अर्को मौका गुमाए । फोफनाको क्रस बललाई उनले पोष्टको दिशा दिन सकेनन् ।

बाग्मतीले दोस्रो हाफमा खासै बनाउन सकेन् । खेलको ८२औं मिनेटमा सुसन लामाले निकालेको पासमा डिना गुरुङ गोल गर्न चुके । दवावमा देखिएको बाग्मतीले संकटाको अग्रपंक्तीका खेलाडीलाई सफल हुन भने दिएनन् ।

निर्धारित समयमा दुवै टिमले स्कोर गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयको खेल पनि आफ्नो नियन्त्रणमा राखेको संकटाले थुप्रै अवसर गुमायो । संकटाले अवसर गुमाईरहदा खेलको ११७औं मिनेटमा बाग्मतीले फ्रिकिकको अवसर प्राप्त गर्‍यो । उक्त फ्रिकिक बलमा बाग्मतीले बिजयी गोल गरेको हो ।

डिना गुरुङले प्रहार गरेको फ्रिकिक बललाई संकटाका गोलरक्षक राजाबाबु थापाले नियन्त्रणमा लिन खोज्दा रिबाउण्ड बलमा अनिलले हेडमार्फत गोल गरेका हुन् । बलियो देखिएको संकटाविरुद्ध स्कोर निकालेपछि उत्साहित बाग्मतीले अन्तिम समय सम्हालिएर खेल्दै नजिता आफनो पक्षमा पारेको हो ।

खेलको म्यान अफ दि म्याच बाग्मतीका अभिशेष वाईवा घोषित भए । उनले पाँच हजार नगद हात पारे । अनिललाई जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधवार एनआरटी क्लब र आयोजक नव जनजागृति युवा क्लबबीच पहिलो सेमिफाईनल खेल हुनेछ । एनआरटीले बिजय युथ र आयोजकले सुदूरपश्चिम ११ लाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका थिए । चैत्र १९ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्