आयोजकलाई स्तब्ध पार्दै एनआरटी फाईनलमा


eShilalekh

१६ चैत्र २०७८, बुधबार २२:११

सिमरा: न्युरोड टिम (एनआरटी) सिमरामा जारी जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाईलनमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाईनल खेलमा एनआरटीले आयोजक नव जनजागृति युवा क्लबलाई ३-२ ले स्तब्ध पारेको हो ।

घरेलु मैदानमा आयोजकलाई रोक्दै अन्तिम दुईमा स्थान सुरक्षित गर्ने क्रममा एनआरटीका लागि स्टेफन समिरले एक्लैले दुई गोल गरे भने मेसुके ओलोमाईले एक गोल थपे । आयोजकका लागि आयुश घलान र एलन थापाले एक-एक गोल फर्काए ।

पाचौं संस्करणको बिजेता समेत रहेको आयोजक एनआरटीसंग पराजित भएसंगै जीतपुरसिमरा गोल्डकपको उपाधी नयाँ टिमले जित्ने निश्चित भएको छ । आयोजकसंगै यसअघि जीतपुरसिमरा गोल्डकपको उपाधी उचालेका अन्य तीन टिम प्रतियोगिताबाट बाहिरिएका छन् । संकटा, हिमालयन शेर्पा र बिजय युथले यसअघि गोल्डकपको उपाधी उचालेको थियो ।

उपाधी होडमा आफूलाई उभ्याउने क्रममा एनआरटीले आयोजकलाई दवावमा राख्यो । सुदूरपश्चिम ११ लाई पराजित गर्दै सेमिफाईन प्रवेश गरेको आयोजकले खेलको सुरुवातमा एनआरटीविरुद्ध केही अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुगेको हो ।

खेलको १२औं मिनेटमा आयोजकका मोहित गुरुङले डिबक्स भित्र पाएको उत्कृष्ट अवसर गुमाए । डोना थापाले मिलाएको पासलाई मोहितले सदुपयोग गर्न सकेनन् । उनको फितलो प्रहारलाई एनआरटीका गोलरक्षक प्रदीप भण्डारीले सहजै बचाउ गरेका थिए ।

घरेलु दर्शकको समर्थन पाएको आयोजकले खेलको २०औं मिनेटमा अर्को अवसर गुमायो । आयुश घलानले बनाएको आकर्षक अवसरलाई मोहितले पुनः खेर फाले । उनको प्रहार पनि एनआरटीका गोलरक्षक प्रदीपले बचाउ गरे । बलियो एनआरटीविरुद्ध मैदानमा उत्रिएको आयोजकले पहिलो हाफमा बनाएको केही अवसर चुकाउन पुग्दा घरेलु दर्शक निराश देखिन्थे ।

बिजय युथलाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको एनआरटीले आयोजकविरुद्ध पहिलो हाफको ३१औं मिनेटमा गोलको खाता खोलेको थियो । एनआरटीका रन्जन बिष्टले मिलाएको पासलाई सदुपयोग गर्दै स्टेफन समिरले टिमलाई अग्रता दिलाएका हुन् । उनको प्रहारलाई आयोजकका गोलरक्षक सन्तोष महतले बचाउ गर्न सकेनन् ।

खेलमा अग्रता लिएपछि एनआरटी पहिलो हाफमा आयोजकमाथी हावी देखियो । आयोजकलाई खासै अवसर बनाउन नदिएको एनआरटीले दोस्रो हाफको सुरुवातमा भने बराबरी गोल खान पुग्यो । खेलको ६५औं मिनेटमा आयुश घलानले गोल गर्दै खेल १-१ को स्थितीमा पु¥याए । मोहित गुरु»को क्रसलाई हेडमार्फत गोल गर्दै आयुशले घरेलु टोलीलाई खेलमा फर्काएका थिए ।

एनआरटीको अग्रताले सुस्ताएका दर्शक आयुशको गोलपछि उफ्रिन थालेका थिए । घरेलु दर्शकको हुटिङले उत्साहित आयोजकले खेल बराबरीमा ल्याएपछि आक्रामक खेल प्रदर्शन गर्दै केही अवसर बनायो । तर अग्रपंक्तीका खेलाडी चल्न नसक्दा आयोजकले सफलता हात पार्न सकेन् ।

आयोजकको बराबरी गोलपछि प्रतिस्पर्धात्मक बन्न पुगेको खेलको ८५ र ८७औं मिनेटमा एनआरटीले दुई गोल थप्दै खेल आफ्नो नियन्त्रणमा लिन पुग्यो । विपक्षी रक्षापंक्तीको कमजोरीको फाईदा उठाउदै मेसुकेले गोल गरे । डिबक्स भित्रबाट मेसुकेले गरेको सशक्त प्रहारले सिधै जाली चुम्यो । लगत्तै स्टेफन समिरले अर्को गोल थप्दै खेल ३-१ को स्थितीमा पुर्‍याए ।

विजय युथमाथी पहिलो जित दर्ता गर्ने क्रममा पनि मेसुके र स्टेफनले गोल गरेका थिए । विजय युथसंगको पहिलो खेलमा मेसुकेदे दुई स्टेफनले एक गोल गरेका थिए । आयोजकविरुद्ध भने स्टेफनले दुई र मेसुकेले एक गोल गरे । जारी प्रतियोगितामा दुवै खेलाडीको गोल संख्या तीन-तीन पुगेको छ ।

खेलको अन्तिम समयमा ३-१ ले पछि परेपछि निराश आयोजकले खेलेको अन्तिम समयमा गोल गर्दै फराकिलो हार टारेको थियो । निर्धारित समय सकिएपछि थपिएको पाँच मिनेट ईन्जुरी समयमा आयोजकका लागि एलन थापाले गोल गरेका थिए ।

इन्जुरी समयमा आयोजक टोली दस खेलाडीमा सिमिति भएको थियो । आयोजकबाट खेलेका डोना थापाले इन्जुरी समयमा रातो कार्ड खाएका थिए । विवाद गरेको भन्दै रेफ्री नविन्द्र महर्जनले डोनालाई रातो कार्ड देखाएका थिए ।

आयोजकविरुद्ध महत्वपूर्ण जित हात पारेको एनआरटीका स्टेफन समिर खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत विहिवार सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लब र सर्लाहीको बाग्मती युवा क्लबबीच दोस्रो सेमिफाईनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्