बाग्मती स्तब्ध, एपीएफ फाईनलमा


eShilalekh

१७ चैत्र २०७८, बिहीबार २२:१३

सिमरा: बाग्मती युवा क्लब, सर्लाहीलाई स्तब्ध पार्दै नेपाल एपीएफ क्लब जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा विहिवार भएको दोस्रो सेमिफाईनल खेलमा बाग्मतीमाथी ४-१ को फराकिलो जित हात पार्दै एपीएफ फाईनलमा प्रवेश गरेको हो ।

बाग्मतीमाथी सहज जित हात पारेको एपीएफले अब न्युरोड टिम (एनआरटी) संग उपाधीका लागि भिडन्त गर्नेछ । पहिलो सेमिफाईनल खेलमा आयोजकलाई ३-२ ले पन्छाउदै एनआरटीले अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । दुई टिमबीचको भिडन्त शनिवार हुनेछ ।

एपीएफ जीतपुरसिमरा गोल्डकपमा दोस्रो पटक फाईनलमा पुगेको हो भने एनआरटीले पहिलो पटक अन्तिम दुईको यात्रा तय गरेको हो । गोल्डकपको दोस्रो संस्करणमा फाईनल प्रवेश गरेको एपीएफ उपविजेता बनेको थियो । उक्त संस्करणको उपाधी हिमालयन शेर्पाले उचालेको थियो ।

एपीएफलाई दोस्रो पटक उपाधी होडमा उभ्याउने क्रममा अर्माण्ड बेडमले दुई गोल गरे । एपीएफका लागी थप दुई सविन गुरुङ र प्रदीप लामाको नाममा रहयो । बाग्मतीका लागि भने अनिल रानामगरले एक गोल गरे ।

सविन गुरुङको गोलको मद्यतबाट एपीएफले खेलमा अग्रता लिएको थियो । खेलको १२औं मिनेटमा सविनले डिबक्स भित्र पाएको बललाई गोलमा परिणत गरेका थिए । त्यसको केही समयमा एपीएफले अर्को गोल थप्यो । १६औं मिनेटमा अर्माण्ड बेडमले एपीएफका दोस्रो गोल गरे । बाग्मतीका रक्षापंक्ती सम्हालिन नपाउदै विभागिय टिमले खेल २-० को स्थितीमा पुर्‍याएको हो ।

क्वार्टरफाईनलमा साविक बिजेता संकटा क्लबलाई पन्छाउदै सेमिफाईनल यात्रा तय गरेको बाग्मतीको सुरुवात राम्रो हुन सकेन् । बिएफसी चितवनलाई २-१ र संकटालाई १-० पन्छाउदै अन्तिम चारको यात्रा तय गरेको बाग्मतीलाई उपाधी जित्ने टोलीका रुपमा हेरिएको थियो ।

घरेलु दर्शकको समर्थन पाएको बाग्मतीको सुरुवात राम्रो हुन नसक्दा एपीएफले त्यसको फाईदा उठायो । खेलको ३६औं मिनेटमा बाग्मतीले गोल गर्ने अवसर गुमाउदा घरेलु दर्शक निराश बने । कोएरा फ्लोरेन्टले मिलाएको क्रसलाई बाग्मतीका दीपेश चाम्लि» राईले सदुपयोग गर्न सकेनन् । उनको प्रहार क्रसबार माथीबाट बाहिरियो ।

त्यसको केही मिनेटमै बाग्मतीले गोलअन्तर घटायो । बाग्मतीका अनिल रानामगरले ३८औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे । डिबक्स भित्र पाएको बललाई अनिलले जाली चुमाउदै खेल २-१ को स्थितीमा ल्याए ।

हिमालयन शेर्पालाई पन्छाउदै सेमिफाईनल प्रवेश गरको एपीएफले पहिलो हाफमा थपिएको इन्जुरी समयमा गोल थप्ने अवसर गुमाएको थियो । बाग्मतीबाट गोलरक्षक प्रिसोले बिके तामा»लाई डिबक्सभित्र लडाएपछि एपीएफलाई पेनाल्टी दिइएको थियो । उक्त पेनाल्टी अवसरलाई सदुपयोग गर्न एपीएफका आभाष लामिछाने चुकेका थिए । उनको प्रहारलाई गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरेका थिए ।

दोस्रो हाफमा बाग्मतीले आक्रामक खेल प्रदर्शन गरेको थियो । पहिलो हाफको तुलनामा सुधारिएको खेल प्रदर्शन गरेको बाग्मतीले केही अवसर खेर फाल्दा एपीएफले ७९औं मिनेटमा तेस्रो गोल थप्यो । टिमका लागि तेस्रो र व्यक्तिगत दोस्रो गोल गर्दै अर्माण्ड बेडमले खेल ३-१ को स्थितीमा पुर्‍याए । अर्माण्डको हेड गोल उत्कृष्ट थियो । प्रतियोगितामा अर्माण्डको यो तेस्रो गोल हो । यसअघि शेर्पाविरुद्ध जित निकाल्दा अर्माण्डले एक गोल गरेका थिए ।

बाग्मतीमाथी सहज जित हात पार्ने क्रममा एपीएफले खेलको ८३औं मिनेटमा चौथो गोल गर्‍यो । एपीएफका प्रदीप लामाले टिमका लागि चौथो गोल गरे । खेलको अन्तिम समयमा थप दुई गोल खाएपछि बाग्मती ४-१ हार व्यहोर्दै घर फर्कियो । बाग्मतीविरुद्ध जित हात पार्ने क्रममा एपीएफका लागि उत्कृष्ट खेल प्रदर्शन गरेका प्रदीप लामा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्