जिल्ला प्रशासन कार्यालयमा पत्रकारमाथि रोकः पत्रकार संगठनद्धारा आपत्ति


eShilalekh

६ असार २०८२, शुक्रबार १८:२१

प्रमोद सहनी

मकवानपुरः हेटौंडास्थित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा समाचार संकलन गर्न गएका पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाइएको घटनाप्रति पत्रकारसम्बद्ध संघसंगठनले आपत्ति जनाएका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष भावना रिजाल, सदस्य गणेश दुलाल, मनिल महत्तोलगायतका पत्रकारहरूलाई जिल्ला प्रशासन कार्यालयमा प्रवेश गर्न रोक लगाइएको घटनाको विरोध गर्दै नेपाल प्रेस युनियन मकवानपुर र प्रेस सेन्टर नेपाल मकवानपुरले आपत्ति जनाएका हुन् ।

पत्रकारहरु नेपाली कांग्रेस मकवानपुरद्वारा जनप्रतिनिधिमाथिको घटनाबारे ध्यानाकर्षण पत्र र रास्वपाको ज्ञापनपत्र बुझाउने कार्यक्रमका लागि त्यहाँ गएका थिए ।

घटनाको विरोधमा नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारीले पत्रकारलाई प्रवेशमा रोक लगाउनु संविधान र सञ्चार ऐनको उलंघन भएको उल्लेख गरेका छन् । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचना प्राप्तिको अधिकार नेपालको संविधानले सुनिश्चित गरेको स्मरण गराउँदै बिडारीले यस्ता कार्यले लोकतान्त्रिक मूल्य र पत्रकारिताको स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न भएको बताए ।

यसैगरी प्रेस सेन्टर नेपाल मकवानपुरका अध्यक्ष एपी शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटना प्रेस स्वतन्त्रतामाथिको खुला हमला भएको ठहर गर्दै दोषी निकायलाई कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्