इतिहास रच्ने दाउमा एपीएफ र एनआरटी


eShilalekh

१८ चैत्र २०७८, शुक्रबार १९:३३

सिमरा: जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधीका लागि शनिवार विभागिय टोली नेपाल एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुवै टोली उपाधी जित्ने मात्र नभई इतिहास रच्ने दाउमा हुनेछन् ।

दुवै टोलीका लागि यो उपाधी महत्वपूर्ण छ । जारी सिजनमा एपीएफले दोस्रो उपाधी उचाल्न खोज्दा एनआरटी पहिलो उपाधी आफ्नो नाममा लेखाउने रणनितिमा हुनेछ । यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाईनलमा मनाङलाई टाईब्रेकरमा पराजित गर्दै एपीएफले सिजनको पहिलो उपाधी जितेको थियो ।

आहा राराबाहेक एपीएफको यो चौथो प्रतियोगिता हो । झापा र बाग्मतीमा भएको प्रतियोगितामा पराजित हुदै एपीएफ जीतपुरसिमरा गोल्डकपसम्म आईपुगेको हो । एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो । सिमरा आउनु अघि एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग लिएको थियो ।

दुवै प्रतियोगितामा एनआरटीका लागि बाग्मती बाधक बनेको थियो । बाग्मतीसंग दुई वटा प्रतियोगितामा पराजित हुदै सिमरा आईपुगेको एनआरटी पहिलो खेलमा बिजय युथ क्लब हेटौडा र दोस्रो खेलमा आयोजक जनजागृति युवा क्लबलाई पन्छाउदै उपाधी होडमा उभिएको हो ।

एपीएफले भने फाईलनको यात्रा तय गर्ने क्रममा हिमालयन शेर्पा क्लब र बाग्मती युवा क्लबलाई पराजित गरेको थियो । जीतपुरसिमरा गोल्डकप १२औं संस्करणसम्म आईपुग्दा ११ वटा संस्करणमा भाग लिएको एपीएफले उपाधी उचाल्न सकेको छैन् । दोस्रो संस्करणमा फाईलनमा पुगेको एपीएफ हिमालयन शेर्पासंग पराजित हुदै उपविजेता बनेको थियो ।

एक संस्करणबाहेक अन्य ११ संस्करणमा निरन्तर सहभागी हुदै आएको एपीएफका लागि जीतपुरसिमरा गोल्डकपको उपाधी आफैमा महत्वपूर्ण छ । त्यसैले पनि एनआरटीलाई हराएर एपीएफ पहिलो पटक गोल्डकपको उपाधी उचाल्न चाहन्छ ।

एपीएफका प्रशिक्षक कुमार थापाले यसपटक जीतपुरसिमरा गोल्डकपमा आफ्नो नाम लेखाएर फर्कने बताए । लामो समयसम्मको सहभागितामा पनि उपाधी जित्न नसक्दा निराश रहेको भन्दै थापाले यसपटक उक्त अवसर प्राप्त भएकाले १२औं संस्करणको बिजेता बन्नेमा ढुक्क रहेको थापाको भनाई थियो ।

थापाले उपाधी उचाल्ने बताईरहदा एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भने आफ्नै टिमले जित्ने दावी गर्छन् । एपीएफ बलियो टोली भएपनि एनआरटी कमजोर नरहेको शाक्यको भनाई थियो । शाक्यले यो सिजनको उपाधी जीतपुरसिमरा गोल्डकप उचालेर घर फर्कने बताए । उनले एनआरटीका लागि यो उपाधी निकै महत्वपूर्ण रहेको बताएका छन् ।

ए डिभिजन लिग बाहेक जारी सिजनमा एपीएफ र एनआरटीको यो पहिलो भेट हो । काठमाण्डौमा सम्पन्न लिगमा दुवै टिमले ३-३ को बराबरी खेलेका थिए । लिगपछि मोफसलको प्रतियोगितामा पहिलो पटक भेटन लागेका दुई टिमबीचको खेलमा रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

आयोजक दुवै टिमका प्रशिक्षक पनि फाईनल भिडन्त रोमाञ्चक हुने बताउछन् । उपाधी जित्न चाहने ए डिभिजनका दुईबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेमा आफू विश्वस्त रहेको एपीएफका प्रशिक्षक कुमार थापाले बताए ।

एनआरटीका प्रशिक्षक शाक्यले अन्तिम लडाई दर्शकले हेर्न चाहेअनुसारको हुनेमा आफूपनि आशावादी रहेको बताउछन् । टिममा कुनै परिवर्तन नभएको र नियमित खेलाडीनै रहेकाले एपीएफलाई चुनौती दिन आफ्नो टिम तयार रहेको शाक्यको भनाई छ ।

एनआरटीका कप्तान रन्जन बिष्ट पनि उपाधी जित्नैपर्ने अवस्थामा रहेकाले एपीएफको चुनौती सामना गर्न तयार रहेको बताउछन् । एपीएफ सशक्त टिम भएपनि आफ्नो टिमका खेलाडी बिपक्षी टिमअनुसारको रणनिति बनाएर मैदानमा उत्रने बिष्टले बताए ।

यता एपीएफका कप्तान नविन लामा अब उपाधीका लागि धेरै बेर पर्खन नसक्ने बताउछन् । धेरै वर्षको सहभागितामा पनि उपाधी जित्न नसक्दा दुःख लागेको भन्दै लामाले टिम र आफ्नो लागी उपाधी महत्वपूर्ण रहेको बताए । एपीएफले पनि आफ्नो नियमित खेलाडीलाई निन्तरता दिने कप्तान लामाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्