एनआरटीलाई सिजनकै पहिलो उपाधी, एपीएफ स्तब्ध


eShilalekh

१९ चैत्र २०७८, शनिबार २२:३३

सिमरा: जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधी न्युरोड टिम (एनआरटी) ले उचालेको छ । सिमरा रंगशालामा शनिवार भएको खेलमा विभागिय टिम एपीएफलाई ५-० को फराकिलो गोलअन्तरले पराजित गर्दै एनआरटीले उपाधी उचालेको हो ।

एनआरटीलाई उपाधी दिलाउने क्रममा लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान दुई-दुई गोल गरे भने दीपेश घलेले एक गोल गरे । एनआरटीका लागि यो उपाधी सिजनकै पहिलो हो । यो उपाधी उचालेसंगै एनआरटीले जीतपुरसिमरा गोल्डकप बिजेताको सूचिमा आफूलाई पनि उभ्याउन सफल भएको छ ।

प्रतिस्पर्धात्मक पहिलो हाफको ईन्जुरी समयमा गोलको खाता खोलेको एनआरटीले दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित हात पारेको हो । पहिलो हाफमा थपिएको दुई मिनेट ईन्जुरी समयमा मेसुकेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । दीपेश धिमालले बिशाल घलानलाई लडाएपछि पाएको फ्रिकिकमा मेसुकेले गोल गरेका थिए ।

डिबक्स बाहिरबाट मेसुकेले गरेको प्रहारले सिधै जाली चुमेको थियो । उनको प्रहारलाई रोक्न एपीएफका गोलरक्षक राजु नगरकोटी असफल देखिए । एक गोलको अग्रतासंगै दोस्रो हाफ सुरु गरेको एनआरटीले खेलको ६०औं मिनेटमा दोस्रो थोल थप्यो । मेसुकेको क्रस बललाई सदुपयोग गर्दै दीपेश घलेले टिमका लागि दोस्रो गोल गरे ।

दोस्रो पटक फाईनलमा पुगेर उपविजेतामा सिमित हुन पुगेको एपीएफले सुरुवात देखि आक्रामक खेल खेलेपनि फिनिसिङमा चुकेको थियो । एपीएफ फिनिसिङमा चुक्दा एनआरटी खेलमा हावी हुदै गएको हो । खेलमा दुई गोलले अग्रता लिएको एनआरटीले ७७औं मिनेटमा तेस्रो गोल गरेको थियो । एनआरटीका स्टेफन समिरले गोल गर्दै खेल ३Ð० को स्थितमा पुर्‍याएका थिए ।

करिब १० हजार दर्शकको उपस्थिती रहेको रंगशालामा ए डिभिजनका दुई टिमबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो । तर एनआरटीले लगातार गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । खेलको ८१औं मिनेटमा एनआरटीले चौथो गोल थप्दा एपीएफका समर्थक निराश बन्न पुगे । मेसुकेले टिमका चौथो र प्रतियोगितामा व्यक्तिगत पाचौं गोल गरे ।

एक पछि अर्को अवसरलाई स्कोरमा परिणत गर्न सफल एनआरटीले खेलको ८९औं मिनेटमा पाचौं गोल थप्यो । स्टेफन समिरले एनआरटीका लागि पाचौं गोल गरेका थिए । समिरको गोलसंगै एपीएफ अन्तिम भिडन्तमा लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।

एपीएफविरुद्ध जित हात पारेसंगै एनआरटीले ट्रफिसहित १० लाख हात पारेको छ । उपविजेता एपीएफले पाँच लाख प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके घोषित भएका छन् । उनले बेनेली मोटरसाईकल प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके घोषित भए । उनले एक थान बेनेली मोटरसाईकल प्राप्त गरेका छन् । प्रतियोगिताको विधागत पुरस्कारतर्फ पनि एनआरटी हावी भयो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एनआरटीका प्रदीप भण्डारी, उत्कृष्ट मिडफिल्डर एनआरटीका अशोक थापा, उत्कृष्ट फरवार्ड एनआरटीका स्टेफन समिर, उत्कृष्ट प्रशिक्षक एनआरटीका राजुकाजी शाक्य घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्सको उपाधी एपीएफका राजन गुरु»ले प्राप्त गरे भने प्रतियोगिता अवधीभरी ६ गोल गरेका स्टेफन समिरले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको उदयीमान खेलाडी आयोजक नव जनजागृति युवा क्लबका सागर चौलागाई घोषित भए । प्रतियोगिताको फेयर प्लेको उपाधी बिजय युथ क्लब हटौडाले प्राप्त गरेको छ ।

प्रतियोगिताको विजेताले तथा उपविजेता टिमका खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आले, जगदम्बा स्टील्स्का कर्पोरेट भाईस प्रेसिडेन्ट कृष्णदत्त भट्ट, संविधान सभाका सदस्य शोभाकर पराजुली, एकिकृत समाजवादीका नेता दिनेश राई, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नव जनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामालगायतले पुरस्कार वितरण गरेका थिए ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स्को मुख्य प्रायोजनमा चैत्र १० गते सुरु भएको प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच टिमको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्