मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न अध्यादेश जारी, मतदाता नामावली संकलन गर्न बाटो खुल्यो


eShilalekh

८ आश्विन २०८२, बुधबार १४:४२

सिमरा : आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगलाई बाटो खुलेको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेसँगै आयोगलाई नयाँ मतदाताको नाम संकलन गर्ने अधिकार मिलेको हो।

यसअघिको कानुनअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नमिल्ने अवस्था थियो । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ बमोजिम चुनावको मिति घोषणा भइसकेपछि सोही निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाईदैन ।

निर्वाचन आयोगले अन्तिम पटक २०७९ सालको निर्वाचनअघि मतदाता नामावली संकलन गरेको थियो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् ।

आयोगले गत आइतबार गृह मन्त्रालयलाई पत्र पठाउँदै मतदाता नामावली संकलनका लागि बाटो खुलाइदिन माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्