मधेश प्रदेशमा नयाँ सत्ता समीकरण, जितेन्द्र सोनलको नेतृत्वमा सरकार गठनको दाबी


eShilalekh

२९ आश्विन २०८२, बुधबार १२:०४

सिमराः मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेको छ। मुख्यमन्त्री सतिषकुमार सिंहको राजीनामासंगै नयाँ सरकार गठनका लागि दलहरुबीच नयाँ समीकरण बनेको हो ।

पाँच दलबीच बनेको समीकरणले अबको मुख्यमन्त्रीमा लोसपा नेपालका मधेश प्रदेश अध्यक्ष एवम् बारा क्षेत्र नं. ४(२) का प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई अघि सारेको छ । पाँच दलले बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दावी पेश गरेका छन् ।

लोसपा नेतृत्वको उक्त गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सम्मिलित छन् । प्रदेशसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई बाहिर राख्दै अन्य पाँच दल सरकार बनाउन एकजुट भएका हुन् ।

नयाँ सरकारका लागि जसपा नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपा नेपालका ८ र एकीकृत समाजवादीका ७ सांसदसहित बहुमतका साथ दाबी पेश गरिएको छ।

यसअघि नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र जनमत पार्टी सम्मिलित सरकार गठनको दाबी प्रस्तुत गरिएको थियो। तर उक्त समीकरण टुटेपछि नयाँ गठबन्धन बनेको हो।

प्रतिक्रिया दिनुहोस्