सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पेस्तोल र गोलीसहित पक्राउ

सर्लाही: प्रहरीले सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका- १ निवासी ४८ वर्षीय मेघराज भन्ने बाबु थापा रहेका छन् । प्रहरीले उनलाई आफ्नै घरबाट सुतिरहेको अवस्थामा पक्राउ गरेको हो ।
थापाको साथबाट ‘मेड इन युएसए’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन र १५ राउन्ड गोलीसमेत बरामद गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका थापालाई बरामद हातहतियारसहित जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







