पूर्व न्यायाधीश बम हत्याका दोषी बाबु थापा हतियारसहित पक्राउ


eShilalekh

२९ आश्विन २०८३, बिहीबार १३:२०

सर्लाहीः सर्लाही प्रहरीले सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका दोषी बाबु थापालाई दुई थान पेस्तोल र १५ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको छ ।

गत वर्ष भदौ २४ गते कारागारबाट फरार भई भारत तथा नेपालका विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थापालाई आफ्नै घरमा आएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाको संयुक्त टोलीले बुधबार राति महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिकास्थित मिलनचोकमा रहेको घरबाटै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविन्द्र नाथ पौडेलले जानकारी दिए ।

२०६९ जेठ १८ गते भएको न्यायाधीश बम हत्याकाण्डमा दोषी ठहर भई २०७१ सालमा पक्राउ परेका चुरे भावर राष्ट्रिय पार्टीका तत्कालीन उपाध्यक्ष थापा जन्मकैदको सजाय भुक्तानका लागि सुन्धारास्थित जगन्नाथदेवल कारागारमा थिए ।

फरार अभियुक्त थापाको साथबाट दुई थान पेस्तोल र १५ राउण्ड गोली बरामद भएकाले उनीविरुद्ध हातहतियार तथा खरखजाना कसुरमा सर्लाही जिल्ला अदालतमा मुद्दा प्रक्रिया अगाडि बढाइने एसपी पौडेलले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्