बाराका विभिन्न सीमा नाकाबाट ९ लाखभन्दा बढीको अवैध सामान बरामद, एक भारतीय नागरिक पक्राउ


eShilalekh

२९ आश्विन २०८३, बिहीबार १३:०४

सिमराः सशस्त्र प्रहरी बलले बाराका विभिन्न सीमा नाकाबाट भन्सार छली गरी नेपाल भित्र्याइएका करिब नौ लाख १० हजार रुपियाँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका अनुसार जिल्लाका विभिन्न इकाइबाट परिचालित टोलीले बीओपी कवहीगोठ, बरैनिया र गोलागञ्ज क्षेत्रबाट हरियो तरकारी, जुत्ता–चप्पल, तयारी पोसाक, लत्ताकपडा, सुर्तीजन्य सामग्री, मोटरसाइकल तथा पटाकासमेत नियन्त्रणमा लिएको हो ।

अवैध सामान ओसारपसारमा संलग्न भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मोतिहारी का ३० वर्षीय सिकेन्द्र कुशवाहालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

बरामद गरिएका सामान र पक्राउ परेका कुशवाहालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीले जनाएका छन् ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अवैध ओसारपसार र प्रतिबन्धित वस्तुको कारोबार रोक्न नियमित गस्ती, निगरानी र जाँच प्रक्रियालाई कडाइका साथ अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्