सिरहा: लहानको बलान नदीमा डुबेर दुई बालकको मृत्यु

सिरहा: सिरहाको लहान नगरपालिका-२३ स्थित बलान नदीमा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बथनाहा तिलेबोनाका १४ वर्षीय राजु महतो र नौ वर्षीय अभिनन्दन महतो रहेका छन्।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार बिहीबार दुवै बालक बलान नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा नदीको गहिरो पानीमा पुगेपछि उनीहरू अचानक डुबेर बेपत्ता भएका थिए।
घटनालगत्तै खोजतलास गर्दा बिहीबार साँझ ५ बजे स्थानीय युवाहरूले माछा मार्ने महाजालको प्रयोग गरी राजुलाई मृत अवस्थामा नदीबाट बाहिर निकालेका थिए।
यसैगरी अभिनन्दनको खोजीका लागि शुक्रबार महोत्तरीको बर्दिबासबाट सशस्त्र प्रहरीको विशेष गोताखोर टोली बोलाइएको थियो। गोताखोर टोलीले नदीको गहिरो पानी जमेको स्थानमा करिब एक घण्टा खोजी गरेपछि अभिनन्दनको शव पनि फेला पारेको छ।
स्थानीयवासीका अनुसार बलान नदीमा डुबेर एक वर्षभित्र चार जनाको ज्यान गइसकेको छ।







