सर्लाहीमा कार दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

सर्लाही: सर्लाहीको पर्सा गाउँपालिका २ स्थित संग्रामपुर पुलमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा महोत्तरीको गौशाला नगरपालिका-५ का २४ वर्षीय चालक विकल साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार शुक्रबार मध्यान्ह करिब १२ बजे महोत्तरीबाट सर्लाहीको मलंगवातर्फ आउँदै गरेको बिआर-०६-बिएक्स-०४३५ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो।
दुर्घटनामा कारमा सवार महोत्तरी गौशालाका २२ वर्षीय शम्भुनाथ ठाकुर र सोही ठाउँका २३ वर्षीय शुभम कुमार शर्मा घाइते भएका छन्।
दुर्घटनापछि मृतक साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।







