‘प्रथम जीतपुरसिमरा म्याराथन’ सम्पन्न, प्रतियोगिताका विजेता सम्मानित

सिमरा: बाराको जीतपुरसिमरामा आयोजित ‘प्रथम जीतपुरसिमरा म्याराथन प्रतियोगिता-२०८३’ शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ।
खस आर्य समाज नेपालको आयोजना तथा बिहानी ग्रुप र भूतपूर्व सैनिकको सहकार्यमा सम्पन्न उक्त म्याराथनमा करिब दुई सय जना धावकहरूको सहभागिता रहेको थियो। सिमरास्थित रामजानकी मन्दिरबाट सुरु भएको म्याराथन पथलैया पुगेर पुनः रामजानकी मन्दिरमै फर्किएर टुङ्गिएको हो।

प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको पुरुषतर्फ राजेन्द्र बम्जन प्रथम, चिरञ्जीवी पोखरेल दोस्रो र कुमार थापा तेस्रो स्थान हासिल गर्न सफल भए। त्यसैगरी महिलातर्फ रीना तामाङ प्रथम, जनकी खड्का दोस्रो तथा मीना श्रेष्ठ तेस्रो भइन्। ६० वर्षमाथिको उमेर समूहमा भने गंगाप्रसाद मैनालीले प्रथम स्थान हासिल गरे। प्रतियोगिताका उत्कृष्ट विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा पदकद्वारा सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य देवनारायण चौधरीले खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र आपसी सद्भाव बढाउनुका साथै नयाँ प्रतिभा पहिचानमा सहयोग पुर्याउने बताए।

खस आर्य समाज नेपालका अध्यक्ष शरद पराजुलीको अध्यक्षतामा सम्पन्न सो समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य रामचन्द्र न्यौपानेले दिएका थिए भने सञ्चालन रविन्द्र खकुरेलले गरेका थिए।







