सप्तरीमा गाडिएको अवस्थामा मृत हात्ती फेला


eShilalekh

३० आश्विन २०८३, शुक्रबार २०:२३

सप्तरी: सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित धान खेतमा मृत हात्ती गाडेको अवस्थामा फेला परेको छ। नियमित गस्तीमा निस्किएको कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीले मृत हात्तीलाई खाल्डो खनेर पुरिएको अवस्थामा फेला पारेको हो।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरका अनुसार हात्तीलाई खाल्डोमा पुरेका साथै माथिबाट परालले छोपेर लुकाउन खोजिएको थियो। उक्त हात्तीलाई दुई तीन दिनअघि नै मारेर गाडिएको हुन सक्ने आशङ्का गरिएको छ।

हाल गाडिएको हात्तीलाई बाहिर निकालेर कोशी टप्पु वन्यजन्तु आरक्षको टोलीद्वारा पोस्टमार्टम भइरहेको छ भने प्रक्रिया पूरा भएपछि हात्तीलाई पुनः सोही स्थानमा गाडिने जनाइएको छ।

हात्तीको मृत्युको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको र यसमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ। अनुसन्धानपछि मात्र हात्तीको मृत्युको कारण र घटनामा अन्य व्यक्तिको संलग्नताबारे थप स्पष्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस्