जीतपुरसिमराको कार्यपालिका सदस्यलाई प्रमाणपत्र वितरण, सपथ ग्रहण स्थगित


eShilalekh

१७ जेष्ठ २०७९, मंगलवार २२:०८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृत टिकामणी न्यौपानेले नवनिर्वाचित कार्यपालिका सदस्यलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

उपमहानगरपालिकाको कार्यपालिका सदस्य चयनका लागि जेठ १५ गते भएको निर्वाचनमा नेकपा एमालेका आठ जना उम्मेदवार निर्वाचित भएका थिए । निर्वाचित हुनेमा महिला सदस्यतर्फ पवित्रामाया कार्की, बुद्धकुमारी अधिकारी, मायादेवी चौधरी, रामपती थरुनी र सुकुमाया कुमारी रहेका छन् ।

यसैगरी दलित तथा अल्पसंख्यकतर्फ अर्जुन विक, प्रहलाद साह सोनार र प्रभावती देवी पासवान निर्वाचित भएका थिए । कार्यपालिका सदस्यमा एमालेका सबै उम्मेदवार बिजयी हुँदा नगर कार्यपालिकामा एमालेबाट प्रतिनिधित्व गर्नेको संख्या २२ पुगेको छ भने, माओवादीको पाँच, कांग्रेसको पाँच, लोसपा र एकिकृत समाजवादीको एक-एक रहेको छ ।

प्रमाण पत्र वितरण कार्यक्रममा नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले प्रदेश कमिटी सदस्य देवनरायण चौधरी, एमाले नेता मनोज पौडेल, प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, वडाध्यक्ष सुनिल गुप्ता, ताराबहादुर कार्की, धनबहादुर श्रेष्ठ, सुवाष श्रेष्ठ, श्यामबाबु खाँ, प्रशासन प्रमुख बालाराम खड्का, अधिकृत दुर्गा न्यौपानेलगायतको उपस्थिती रहेको थियो ।

सपथ ग्रहण स्थगित

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्वाचित आठ जना सदस्यहरुको सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । सपथ ग्रहण गर्ने स्थानको विषयमा कार्यपालिका सदस्य र नगर प्रमुखबीच असहमती भएपछि सपथ ग्रहण कार्यक्रम स्थगित भएको हो ।

नगर प्रमुख राजन पौडेलले कार्यपालिका सदस्यलाई आफ्नै कार्यकक्षमा सपथ ग्रहण गराउने तयारी गरेका थिए । तर न्यायीक ईजलाश कक्ष भत्काएर बनाइएको नगर प्रमुखको कक्षमा सपथ ग्रहण गर्न कार्यपालिका सदस्यले अस्विकार गरे । नगरबासीलाई न्यायीक सेवा दिने ईजलाश भत्काएर बनाइएको कक्षमा नभई आफूहरुलाई कार्यालयको अन्य कक्ष वा कार्यालयको हाताभित्र रहेको खुल्ला स्थानमा सपथ ग्रहण गराउन कार्यपालिका सदस्यले प्रमुख पौडेललाई आग्रह गरेका थिए ।

तर नगर प्रमुख पौडेलले आफ्नो कक्षबाहेक अन्यत्र गएर सपथ ग्रहण नगराउने अडान लिए । सपथ ग्रहण गराउने आफ्नो काम भएको र आफूले तयारी गरेकै स्थानमा सपथ ग्रहण गर्न कार्यपालिका सदस्यलाई नगर प्रमुख पौडेलले अनुरोध गरेका थिए । नगर प्रमुख पौडेलले आफ्नो कक्षभन्दा बाहिर गएर सपथ नखुवाउने बताएपछि कार्यपालिका सदस्य केहीबेर आक्रोशित भएका थिए ।

‘ईजलाश भत्काएर बनाएको कोठाको विषयमा कार्यपालिका बैठकमा छलफल हुन बाँकी छ, त्यसैले हामीले त्यो कोठाबाहेक अन्यत्र सपथ खुवाउन आग्रह गरेका थियौ’ नवनिर्वाचित कार्यपालिका सदस्य प्रहलाद साह सोनारले भने ‘तर मेयर साहबले आफ्नो कोठा छोडेर अन्यत्र गएर सपथ खुवाउन मान्नुभएन । हामीले पनि सपथ लिएनौं ।’

दुवै पक्षले आफ्नो अडान नछाडेपछि सपथ ग्रहण कार्यक्रम स्थगित भएको थियो । सपथ ग्रहण स्थगित भएपछि निर्वाचन अधिकृत टिकामणी न्यौपानेले प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलको कक्षमा कार्यपालिका सदस्यलाई प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण कार्यक्रममा सहभागी हुन प्रमुख पौडेललाई बोलाइएपनि उनी सहभागी हुन चाहेनन् ।

निर्वाचन अधिकृत न्यौपानेको विदाई
जीतपुरसिमरा उपमहानगरपालिकाको स्थानीय तह निर्वाचन गराउन निर्वाचत अधिकृतको जिम्मेवारीमा रहेका टिकामणी न्यौपानेलाई मायाको चिनो प्रदान गरिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले निर्वाचन अधिकृत न्यौपानेलाई मायाको चिनो प्रदान गरेका थिए । उपमहानगरपालिकाको निर्वाचन विवादरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलले न्यौपानेको प्रशंसा गरेका थिए ।

कार्यपालिका सदस्यलाई प्रमाणपत्र वितरण गरेसंगै न्यौपानेले निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न गरेका छन् । उपमहानगरपालिकाले आयोजना गरेको विदाई कार्यक्रममा न्यौपानेले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने सवैप्रति धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा सहायक निर्वाचन अधिकृत बालाराम खड्का, अधिकृत रामेश्वर बन्जारा, दुर्गा न्यौपाने, कर्मचारी उमाकान्त पौडेललगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्