सिमरामा अन्तर्राष्ट्रिय भेट्रान कप सुरु, चितवन र सिमरा सेमिफाईनलमा


eShilalekh

३० भाद्र २०७९, बिहीबार ०९:२३

सिमराः दोस्रो अन्तर्राष्ट्रिय भेट्रान कप सिमरामा सुरु भएको छ । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरा भेट्रान क्लबले आयोजना गरेको प्रतियोगिता बुधवारदेखि सुरु भएको हो ।

सिमरा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सिमरा भेट्रान बी र चितवन विजयी भएका छन् । सिमराले बाग्मती भेट्रानलाई ८-० र चितवनले नागसोती भेट्रान हेटौडालाई २-१ ले पराजित गरेको हो ।

बाग्मतीलाई फराकिलो गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गर्ने क्रममा सिमराका लागि गोपीप्रसाद भट्ट एक्लैले पाँच गोल गरे भने राजकुमार घिसिङ, विकर्ण श्रेष्ठ र हरी चौधरीले एक/एक गोल गरे । पहिलो हाफमा ३ गोल गरेको सिमराले दोस्रो हाफमा पाँच गोल थप्दै फराकिलो जित हात पारेको हो । खेलको म्यान अफ दि म्याच सिमराका गोपीप्रसाद घोषित भए । उनलाई प्रदेश सभा सदस्य शोभा लामाले पुरस्कार वितरण गरेकी थिईन् ।

यसैगरी हेटौडालाई पराजित गरेको चितवनका लागि भरत गुरुङ र यमु राणाले एक/एक गोल गरे भने । हेटौडाका लागि भने सुलभजंग राणाले एक गोल फर्काए । गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चितवनले जित निकालेको हो ।
चितवनका भरत गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिराबहादुर गुरु»ले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत विहिवार ६ वटा खेल हुने भएको छ । आयोजकका अनुसार पहिलो खेल सिमरा भेट्रान ए र विरगञ्ज युथ एकेडेमी, दोस्रो भेट्रान सिटि वीरगंज र भुटनदेवी भेट्रान, तेस्रो वीरगंज सिटि पर्सा र कालभैरव भेट्रान हेटौडा, चौथो काठमाण्डौ भेट्रान र कलकत्ता भेट्रान भारत, पाचौं मोरङ भेट्रान र अभिषेक चर्च परासी र छैठौं डेभिल्स् भेलिसेन्ट पोखरा र दार्जिलिङ भेट्रान भारतबीच खेल हुनेछ ।

असोज १ गते सम्म संचालन हुने प्रतियोगितामा भारतका दुई सहित १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद प्राप्त गर्नेछन् ।

यसअघि प्रतियोगिताको उद्घाटन पूर्व श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा मधेस प्रदेश सभा सदस्य लामा, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमिल्सिना, स्वर्गीय मञ्जुदेवीकी छोरा श्यामबाबु गुप्ता, बारा जिल्ला फूटवल संघका अध्यक्ष रामचन्द्र लामा, जीतपुरसिमरा १ का अध्यक्ष गुरुङ, वडा नं. १६ का अध्यक्ष हरिदेव खरेल, वडा नंं ५ का अध्यक्ष दीपेन्द्र चौधरी, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, यु आर गोल्ड प्रिमियम मसला चियाका सञ्चालक उमेश चौलागाईलगायतको उपस्थिती रहेको थियो ।

सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउतको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन संचार संयोजक प्रदीप गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्