दृष्टिविहिनका पीडाः जताततै विभेद


eShilalekh

६ आश्विन २०७९, बिहीबार १७:५८

सिमराः वीरगन्ज घर भएकी २२ वर्षीया सामिया परवीन दृष्टिविहिन छिन् । सर्लाही हरपुरस्थित नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने सामिया अहिले एसइइको तयारीमा छिन् । तर दृष्टिविहिन भएका कारण उनको एसइइसम्मको यात्रा उनका लागि बिर्सनलायक छ ।

अपांगता महिलाको शैक्षिक, आर्थिक सशक्तिकरणका लागि सरोकारवाला निकायको भूमिकाको बिषयमा पहिचान नेपालले सिमरामा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएकी सामियाले दृष्टिविहिन भएका कारण अन्यत्र नभई विद्यालयमै व्यहोर्नुपरेको विभेदका मुद्धा उठाइन् । विद्यालयका शिक्षकले दृष्टिविहिन भएकै कारण भोग्नुपरेको विभेद सम्झदै गर्दा सामियाको आँखामा आँसु थामिएन् ।

उनी भक्कानिन पुगिन् र भनिन् ‘कहिले काँही पढ्नु भन्दा नपढेकै ठिक लाग्छ’ । उनको यो अभिव्यक्तिले कार्यक्रमका सहभागी स्तब्ध बन्न पुगे । सामियाले आफ्ना पीडा पोख्दै गईन् । ‘एसइइका लागि म चिन्तित छु । मैले शिक्षकलाई राईटर (दृष्टिविहिनले बोलेका कुरा लेखिदिने) को व्यवस्था गर्नुपर्यो भनेर पटकपटक भने’ सामियाले थपिन् ‘तर शिक्षकले तिमिहरुलाई किन चाहियो राईटर, यतिकै पास भईहाल्छौ भन्नुहुन्छ ।’

शिक्षकले दिएको जवाफले सामियाको मनोबल घट्दो अवस्थामा छ । उनि भन्छिन् ‘शिक्षकबाटै यो विभेद हुन्छ भने हामीले अरुबाट के अपेक्षा राख्ने?’ । शिक्षाको ज्योती फैलाउने मन्दिरको रुपमा रहेको विद्यालयमा यस्तो विभेद बर्षौदेखि भोगिरहेको अनुभव आफूसंग रहेको सामियाले बताईन् ।

‘हामी दृष्टि भएका विद्यार्थी जसरी लेख्न सक्दैनौ । हामीलाई पढ्न र लेख्न केही असहज हुन्छ’ सामियाले भनिन् ‘तरपनि हामी आफ्नो भविष्यका लागि पढ्न चाहन्छौ । तर विद्यालयमै यस्तो विभेद भएपछि हामी कसरी अगाडी बढ्न सक्छौ ।’

सामियासंगै कार्यक्रममा सहभागी सविता साहले दृष्टिविहिन र अपांगता भएका विद्यार्थीलाई हुने विभेद अत्यन्तै दुःखद् हुने गरेको बताईन् । अपांगता भएका विद्यार्थी स्कुल पढ्न जाँदा सबैभन्दा पहिला विद्यालयमै विभेदको सामना गर्नुपर्ने साहले बताईन् । अन्य सपांग विद्यार्थी सरह व्यवहार नहुनु पनि अपांगमाथीको दुव्र्यवहार रहेको साह बताउछिन् ।

‘सबै क्षेत्रमा अपांगता विद्यार्थी मात्रै पढ्ने स्कुल हुदैन् । जहाँ जुन विद्यालय छ, त्यहीमा पढ्न जाने हो’ साहले भनिन् ‘तर स्कुलमै विभेद हुन्छ । अपांग विद्यार्थीलाई सकेसम्म भर्ना समेत लिईदैन् । यदि भर्ना लिईहाले विभेद गरिन्छ ।’

स्थानीय तहको मातहत आएको शैक्षिक क्षेत्रमा जनप्रतिनिधिले अपांगता भएका विद्यार्थीको अधिकारका लागि गम्भिर भएर सोच्नुपर्ने साहले बताईन् । साहले ‘बेटी बचाऔं बेटी पढाऔं’ अभियानसंगै ‘अपांग बचाऔं, अपांग पढाऔं’ अभियानको थालनी गर्न जनप्रतिनिधिलाई सुझाव दिईन् । उनले अन्यलाई साईकल वितरण गरेजस्तै अपांग भएका विद्यार्थीलाई ल्यापटप वितरण गरे अध्ययनमा सहयोग पुग्ने बताईन् ।

पहिचान नेपालकी अध्यक्ष दृष्टिविहिन ईच्छा केसीले मधेसमा बुहारी भएर भित्रिदा आफूले दाईजो भन्दा पनि अपांगता भएका ब्यक्तिको हकमा काम गर्ने संस्था लिएर आएको बताईन् । उनले त्यही संस्थालाई दाईजोको रुपमा ल्याएको र त्यही संस्थाले मधेसमा अपांगता नागरिकमाथी हुने विभेद र उनिहरुको अधिकारका विषयमा अभियान संचालन गर्ने बताईन् ।

‘म दृष्टिविहिन छु, मेरो श्रीमान पनि दृष्टिविहिन हुनुहुन्छ’ केसीले भनिन् ‘मैले अन्तरजातिय विवाह गरेर मधेसको बुहारी भएर भित्रिएको छु । अब मेरो अभियान मधेसमा अपांगता भएका नागरिकमाथी विभेद अन्त्यका केन्द्रीत हुनेछ ।’

कार्यक्रममा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि समेत सहभागी थिए । सहभागीमध्ये जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले अपांगता भएका विद्यार्थीको शिक्षालाई प्राथमिकतामा राख्ने बताए । राष्ट्रिय अपांग महासंघको पूर्व मध्यमाञ्चल संयोजक समेत रहेका उपप्रमुख अधिकारीले भने ‘अपांगता भएका व्यक्ति, विद्यार्थी माथीको विभेद आफ्नो पालिका क्षेत्रभित्र हुदैन । यदी त्यस्तो भएको भए हामीलाई जानकारी दिनुस । हामी त्यसलाई सच्याउछौं । ’

यसैगरी निजगढ नगरपालिकाकी उपप्रमुख सोममया थिङले आफ्नो पालिकाले अपांगता भएका नागरिकका लागि बजेटमै विभिन्न कार्यक्रम समावेश गरेको बताईन् । उनले अपांगता नागरिकको अधिकारका लागि सक्रिय संघसंस्थासंग सहकार्य गरेर अपांगमैत्री नगरपालिका निर्माणमा अघि बढ्ने प्रतिबद्धता जनाईन् ।

कार्यक्रममा नेपाल अपांग सेवा संघ बाराका अध्यक्ष गंगा वाग्लेले विद्यार्थीले मात्र नभई दृष्टिविहिन शिक्षकले समेत विद्यालयमा विभेदको सामना गर्नुपरेको बताए । उनले विद्यालयमा दृष्टिविहिन शिक्षकका लागि तोकिएको कोटा रिक्त राख्ने तर दृष्टिविहिन शिक्षक नियुक्त गर्न चासो नदेखाउनु दुःखद् रहेको बताए ।

अपांग संघ बाराका पूर्वअध्यक्ष धनप्रसाद बजगाईले सार्वजनिक सवारी साधनमा शारीरिक अपांगता र दृष्टिविहिन भएकामाथी हुने दुव्र्यवहार अपमानजनक हुने बताए । उनले सार्वजनिक सवारी साधनमा चढेका अपांगता भएका व्यक्तिलाई बीच बाटोमै छाडेर सवारीसाधन हिड्ने गरेको पीडा पोखे । बजगाईले यस्ता गतिविधि अन्त्य गर्नका लागि प्रहरीले चासो देखाउनुपर्ने बताए । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले त्यस्ता यात्राका क्रममा भएका दुव्र्यवहारको विषयमा जानकारी भएमा कारवाही हुने बताए ।

कार्यक्रममै सहभागी परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले अपांगता भएका नागरिकलाई गाँउपालिकाले प्रोत्साहनका विभिन्न कार्यक्रम गर्ने बताए । अपांगता भएका व्यक्तिले व्यहोर्नुपरेको सास्ती र भोगाईको विषयमा सुनेर दुःख लागेको बताउदै कुर्मी आफ्नो पालिकामा यस्तो गतिविधि नहुँने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, बिश्रामपुर गाँउपालिकाका अध्यक्ष जुल्फिकार अलि भुटो, देवताल गाँउपालिकाका उदयप्रसाद यादव, नेत्रहिन संघका केन्द्रीय अध्यक्ष खोमराज शर्मा, प्राथमिक स्वाथ्य केन्द्रका डा. दीपक गिरी, नेत्रहिन संघ बाराका अध्यक्ष कृष्ण तिमिल्सिना, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मालगायतले अपांगता भएका नागरिकमाथी हुने विभेद अन्त्य गर्नका लागि संस्थागत प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्