पूर्वमन्त्री मियाँले गरे बारा क्षेत्र नं. ४ मा उम्मेदवारी दर्ता


eShilalekh

२३ आश्विन २०७९, आईतवार २०:५३

सिमराः निवर्तमान सांसद् एवम् पूर्व युवा तथा खेलकुद मन्त्री एकबाल मियाँले बारा क्षेत्र नं. ४ मा बाट प्रतिनिधिसभा सदस्यको लागी उम्मेदवारी दर्ता गराएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मियाँले उम्मेदवारी दर्ता गराएका हुन् । मियाँ लोसपा परित्याग गर्दै एमाले प्रवेश गरेर टिकट लिएका हुन् । मियाँ २०७४ सालको निर्वाचनमा तत्कालिन राजपाबाट बारा क्षेत्र नं. ४ मा निर्वाचित भएका थिए ।

यसैगरी प्रदेश सभातर्फ ४(क) मा एमालेका देवनारायण चौधरी र ४(ख) मा जनता समाजवादी पार्टीका आत्माराम साहले मनोनयन दर्ता गराएका छन् । एमाले र जसपाबीच बारा क्षेत्र नं. ४ को प्रतिनिधिसभा, ४(क) एमाले र ४(ख) जसपाले लिने सहमती भएको थियो ।

मनोनयन दर्ता अघि एमाले र जसपाको संयुक्त र्‍याली निकालिएको थियो । र्‍यालीमा एमाले केन्द्रीय सदस्य सरस्वतीदेवी चौधरी, निर्वतमान प्रदेश सांसद सुन्दर विश्वकर्मा, सिता गुरुङ, एमाले नेता मनोज पौडेल, युवा नेता मोबिन आलम, त्रिलोक विक्रम शाह, जसपा नेता सोहन शर्मालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्