वीरगन्ज युनाईटेडले उचाल्यो परवानीपुर गोल्डकप


eShilalekh

४ चैत्र २०७९, शनिबार २०:१२

सिमराः वीरगन्ज युनाईटेड क्लबले दोस्रो परवानीपुर गोल्डकपको उपाधी उचालेको छ । जनकपुर स्पोर्टस् क्लबमाथी शनिवार ५–० को फराकिलो जित निकाल्दै वीरगन्जले उपाधी उचालेको हो ।

फाइनल भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएपनि वीरगन्जले जनकपुरमाथी सहज जित निकालेको थियो । जितसंगै वीरगन्जले एक लाख ५० नगद प्राप्त गरेको छ भने उपविजेता जनकपुरले ७५ हजार प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वीरगन्जका अभिशेष चौधरी घोषित भएका छन् । विधागततर्फ पनि वीरगन्जकै वर्चश्व देखियो । प्रतियोगिताको उत्कृष्ट डिफेन्डरको पुरस्कार वीरगन्जका विकास चौधरीले प्राप्त गर्दा उत्कृष्ट गोलरक्षक वीरगन्जकै दिलमणी चौधरी र उत्कष्ट प्रशिक्षक मुन्ना चौधरी घोषित भए ।

यता जनकपुरका राकेश यादव उत्कृष्ट फरवार्ड र संजय मगर उत्कृष्ट मिडफिल्डर घोषित भए । फाइनल खेलको म्यान अफ दि म्याचको पुरस्कार वीरगन्जका चतुर्धन चौधरीले पाए । विधागततर्फ उत्कृष्ट भएका खेलाडीले जनही १० हजार नगद प्राप्त गरेका छन् ।

विजेता तथा उपविजेता टिमका खेलाडीलाई मधेस प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री जितेन्द्र सोनल, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीलगायतले पुरस्कार वितरण गरेका थिए ।

परवानीपुर युथ क्लबले आयोजना गरेको प्रतियोगितमा मधेस प्रदेशका ६ र बागमती प्रदेशका दुई गरी आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल हेर्न हजारौंको संख्या दर्शक उपस्थित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्