जगदम्बा जीतपुरसिमरा गोल्डकपः रोमाञ्चक खेलमा मकवानपुर बिजयी


eShilalekh

१२ चैत्र २०७९, आईतवार ०९:००

सिमराः भरतपुर फूटबल क्लबलाई टाइब्रेकरमा निराश बनाउदै मकवानपुर ११ जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शनिवार भएको रोमाञ्चक खेलमा भरतपुरलाई टाइब्रेकरमा ४–३ ले स्तब्ध पार्दै मकवानपुरले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निधारित समयमा दुबै टिमले २–२ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुबै टिमले १–१ गोल गर्दै खेल ३–३ को स्थितीमा पुर्याएपछि नतिजा टाइब्रेकरमा निस्किएको हो ।

यता खेल सुरु भएको १० मिनेटमै दुई गोलको अग्रता लिएको मकवानपुरविरुद्ध उत्कृष्ट पुनरागमन गरेको भरतपुर टाइब्रेकरमा भने सफल हुन सकेन । टाइब्रेकरमा भरतपुरका आकाश थापामगरको प्रहार पोष्टमा लागेर फर्किदा टिप्सन राईको प्रहार क्रसबार माथिबाट बाहिरिन पुग्यो । सजिन थापा, भिष्म क्षेत्री र सुनिल श्रेष्ठ टाइब्रेकरमा सफल देखिए ।

मकवानपुरका लागि संजिव अर्याल, मनिष पौडेल, सुजन गुरुङ र सुदीप श्रेष्ठले गोल गरे । अविनाश खड्काको प्रहार भरतपुरका गोलरक्षक मनोज गुरुङले रोकेका थिए । भरतपुरविरुद्ध संघर्षपूर्ण जित निकाल्दै मकवानपुर ११ जारी गोल्डकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्दै गर्दा मोफसलका दुई टिमबीचको भिडन्त भने सम्झनलायक बन्यो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको भरतपुरविरुद्ध मकवानपुरले उत्कृष्ट सुरुवात गरेको थियो । मकवानपुरले पहिलो हाफको १० मिनेटभित्रै भरतपुरविरुद्ध २–० को अग्रता लिएको थियो ।

खेलको चौथो मिनेटमा सुजन गुरुङ र १०औं मिनेटमा मनिष पौडेलले आकर्षक गोल गर्दै मकवानपुरलाई सुखद् सुरुवात गराए । कप्तान समेत चितवनका गोलरक्षक मनोज गुरुङको मिस पासलाई सदुपयोग गर्दै सुजनले डिबक्स बाहिरबाट सानदार गोल गरे । त्यसलगत्तै मनिष पौडेलले सेन्टर लाइन नजिकबाट गरेको प्रहारले सिधै जाली चुम्यो ।

उनको एयर बललाई भरतपुरका गोलरक्षकले ठम्याउन सकेनन् । गोलरक्षकको गल्तीका कारण खेलमा दुइ गोलले पछि परेको भरतपुरले ३३औं मिनेटमा गोलअन्तर घटायो । सजिन थापाको फ्रिकिक बलमा भिष्म क्षेत्रीको हेडर गोलपछि भरतपुर लयमा फर्कियो । भरतपुरले पहिलो हाफमा बनाएको केही राम्रा अवसर बनाएपनि सफल हुन सकेन ।

खेलको दोस्रो हाफमा भरतपुरले उत्कृष्ट पुनरागमन गर्यो । सजिन थापाले खेलको ५५औं मिनेटमा बराबरी गोल फकाए । सुनिल श्रेष्ठको पासलाई सदुपयोग गर्दै सजिनले खेल २–२ को स्थितीमा ल्याए ।

भतरपुर आक्रामक बन्दै गर्दा मकवानपुर रक्षात्मक देखियो । खेलको दोस्रो हाफमा भरतपुरले लगातार दवाव सिर्जना गर्दै मकवानपुरविरुद्ध राम्रो अवसर बनायो । तर स्कोर निकाल्न सकेन ।

भरतपुरका सुनिल श्रेष्ठ, भिष्म क्षेत्री र सजिन थापाले गोल गर्ने राम्रा अवसर गुमाए । यता मकवानपुरले पनि केही अवसर खेर फाल्दा निर्धारित समय २–२ को बराबरीमा सकियो । त्यसपछि थपिएको अतिरिक्त ३० मिनेट पनि रोमाञ्चक बन्न पुग्यो ।

अतिरिक्त समयको पाचौं मिनेटमा चितवनका सुधांश चौधरीले आत्मघाती गोल गर्न पुगे । मकवानपुरका संजिव अर्यालले प्रहार गरेको फ्रिकिक बललाई सुधांशले हेडमार्फत क्लियर गर्न गर्न खोज्दा गोल हुन पुगेको थियो । डिफेन्डर र गोलरक्षकबीच तालमेल हुन नसक्दा मकवानपुरले खेलमा ३–२ को अग्रता लियो ।

अतिरिक्त समयको १५औं मिनेटमा भरतपुरका लागि सुनिल श्रेष्ठले गोल गर्दै खेल ३–३ को स्थितीमा ल्याए । सुनिलले सेन्टर लाइनबाट बल अघि बढाउदै डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । उनको प्रहारलाई मकवानपुरका गोलरक्षक रेनजेङ थिङले बचाउ गर्न सकेनन् ।

निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि मकवानपुरले टाइब्रेकरमा नाटकिय जित हात पार्यो । खेलको म्यान अफ दि म्याच मकवानपुरका मनिष पौडेल घोषित भए । उनले १० हजार नगद प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत आइतवार साविक विजेता न्युरोड टिम एनआरटी र वीरगन्ज युनाइटेडबीच खेल हुने । बागमती युवा क्लबलाई पन्छाउदै वीरगन्जले एनआरटीसंगको भेट पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्