एनआरटी जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा


eShilalekh

१३ चैत्र २०७९, सोमबार ०८:५४

सिमराः न्युरोड टिम (एनआरटी) जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा आइतवार भएको खेलमा वीरगन्ज युनाइटेड क्लबलाई १–० ले पराजित गर्दै साविक विजेता एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो ।

एनआरटीलाई उपाधी होडमा उभ्याउने क्रममा अशोक थापाले निर्णायक गोल गरे । खेलको २९औं मिनेटमा गौरव श्रेष्ठको पासलाई सदुपयोग गर्दै अशोकले हेडर गोल गरेका हुन् । अशोकले वीरगन्जको फितलो रक्षापंक्तीको फाईदा उठाएका थिए ।

बागमती युवा क्लबलाई ३–० ले पराजित गर्दै एनआरटीसंगको भेट पक्का गरेको वीरगन्जले उत्कृष्ट खेल पस्किएपनि स्कोर निकाल्न भने सकेन । वीरगन्जका लागि आशा गरिएका विवेक चौधरी, कृपा चौधरी चल्न सकेनन् । दुवैले थुप्रै अवसर खेर फालेका थिए ।

एनआरटीको जितमा रक्षापंक्ती सम्हालेका अजय चौधरीको भूमिका महत्वपूर्ण देखियो । सिमरा रंगशालाको उत्पादन समेत रहेका अजयले वीरगन्जका अग्रपंक्तीका खेलाडीलाई मार्क गरेर खेले । विवेक, कृपालगायतका खेलाडीको खेलसंग जानकार रहेका अजयले वीरगन्जको फिनिसिङ लाईनअपलाई चल्न दिएनन् ।

बि डिभिजनको क्लब वीरगन्जविरुद्ध एनआरटीले अपेक्षा गरिएअनुसार प्रदर्शन गर्न भने सकेन् । नेपालको यु२० बाट खेल्ने खेलाडीसहितको टिम लिएर मैदानमा उत्रिएको एनआरटी आपसी लयको खोजिमा देखिन्थ्यो ।

घरेलु दर्शकको समर्थन पाएको वीरगन्जले एनआरटीविरुद्ध थुप्रै अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो । खेलको ४८औं मिनेटमा विवेक चौधरी वन भर्सेस वनको स्थितीमा चुके । उनको प्रहार गोल पोष्ट नजिकैबाट बाहिरिन पुथ्यो ।

खेलको ५४औं मिनटमा वीरन्गजका कृपा चौधरीले अर्को अवसर खेर फाले । डिबक्स भित्र पाएको अवसरमा कृपाले आकर्षक प्रहार गर्न सकेनन् । यस्तै दोस्रो हाफको अन्तिम समयमा सागर चौधरीको हेड बल क्रसबारमा लागेर फर्किदा वीरगन्जका लागि खेलमा फर्कन अवसर गुमेको थियो ।

पहिलो हाफमा लिएको अग्रतालाई जोगाएर राखेको एनआरटीले वीरगन्जविरुद्ध केही राम्रा अवसर गुमाउन पुग्दा जितका लागि निकै संघर्ष गर्नुपर्यो । एनआरटीको जितमा निर्णायक गोल गरेका अशोक खेलको म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार नगद प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार ए डिभिजनका हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्