जीतपुरसिमरा ११ मा वडा कप फूटबल प्रतियोगिता हुने


eShilalekh

१३ चैत्र २०७९, सोमबार १२:०८

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ स्थित खैरवामा प्रथम वडा कप फूटबल प्रतियोगिता हुने भएको छ । चैत २५ गतेदेखि बैशाख २ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

वडा नं. ११ को कार्यालयको सहयोगमा आयोजना हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सिमरा भेट्रान क्लब, बारा ११, थारु ११, वीरगन्ज युथ क्लब, त्रिशुल युवा क्लब बकुलिया, पर्सागढी युवा स्पोर्टस् क्लब, रामबन टाडी क्लब र आयोजक ११ को सहभागिता रहने आयोजक समितिका अध्यक्ष प्रदीप गौतमले जानकारी दिएका छन् ।

आयोजकका अनुसार प्रतियोगिताको विजेता ५० हजार र उपविजेताले २५ हजार नगद प्राप्त गर्नेछ । प्रतियोगिता बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष विन्दालाल साहसहित जनप्रतिनिधि र स्थानीयको उपस्थिती रहेको थियो ।

वडासदस्य सुरेश यादवको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सहजीकरण आयोजक समितिका अध्यक्ष गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्