रोमाञ्चक जितसंगै हिमालयन शेर्पा सेमिफाइनलमा


eShilalekh

१३ चैत्र २०७९, सोमबार २३:०८

सिमराः सातदोबाटो युथ क्लबको सुरुवाती अग्रता उल्टाउदै हिमालयन शेर्पा क्लब जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा सोमबार भएको खेलमा ए डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटोलाई दसौं स्थानमा रहेको शेर्पाले २–१ ले पन्छाएको हो ।

शेर्पालाई महत्वपूर्ण जित दिलाउने क्रममा सुशिल राई र अबायोमीले गोल गरे । सातदोबाटोका लागि भने कप्तान सुदीप गुरुङले गोल गरेका थिए ।

काठमाडौंमा जारी ए डिभिजन लिगमा आमने सामने नभएका दुबै टिम पहिलो पटक मैदानमा उत्रिएका थिए । ए डिभिजन लिगमा दुबै टिमले ५/५ खेल खेलेका छन् । आफूले खेलेका पाँच खेलमध्ये चार खेलमा सातदोबाटोले जित हात पारेको छ भने शेर्पाले एउटा खेल जितेको छ ।

लिगमा एनआरटी, एपीएफ, फ्रेण्डस र खुमलटार युथ क्लबलाई पराजित गर्दै उच्च मनोबलका साथ सिमरा आएको सातदोबाटो पहिलो खेलमै निराश भएको घर फर्किन बाध्य भएको छ । शेर्पाविरुद्ध लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा सातदोबाटोका लागि जीतपुरसिमरा गोल्डकपको यात्रा पहिलो खेलबाटै समाप्त भएको छ ।

लिगको शिर्ष स्थानमा रहेका कारण उपाधीकै दावेदारका रुपमा हेरिएको सातदोबाटोले खेलको ३५औं मिनेटमा अग्रता लिएको थियो । सुदीपले शेर्पाका डिफेन्डर म्यानुल नानाको गल्तीको फाईदा उठाएका थिए । डिबक्सभित्र सर्दोर्बेकले मिलाएको पासलाई सुदपयोग गर्दै सुदीपले गोल गरेका थिए ।

सर्दोर्बेकको पासलाई क्लियर गर्ने क्रममा म्यानुल नानाले नियन्त्रणमा गुमाएपछि सुदीपले टिमलाई अग्रता दिलाएका हुन् । सातदोबाटोको अग्रतालाई शेर्पाले पहिलो हाफको इन्जुरी समयमा बराबरीमा ल्याएको थियो । शेर्पाले पनि सातदोबाटोको डिफेन्डरको गल्तीको फाइदा उठाउन सफल भयो ।

कप्तान बिश्वास श्रेष्ठको क्रस बललाई सातदोबाटोका डिफेन्डर करन रावत क्लियर गर्न नसक्दा शेर्पाका सुशिलले गोल गरेका हुन् । रावतले हेडमार्फत बल क्लियर गर्न खोजेका थिए । तर उनको फितलो हेडर बल शेर्पाका अबायोमीको खुट्टामा पुग्यो । अबायोमीले सुशिललाई उत्कृष्ट पास निकाले र सुशिलले मौका खेर फालेनन् ।

शेर्पा खेलमा फर्किएपछि ए डिभिजन डर्बी भिडन्त थप रोमाञ्चक बन्न पुग्यो । सिमरा रंगशालामा उपस्थित हजारौं दर्शकसामु दुई टिमको प्रतिस्पर्धा हेर्न लायक थियो । दोस्रो हाफमा दुवै टिमले अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् ।

सातदोबाटोविरुद्ध थुप्रै अवसर खेर फालेको शेर्पाले खेल सकिन अन्तिम मिनेट बाँकी हुँदा उत्कृष्ट गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । शेर्पाका सत्यम शर्माको क्रस बलमा अबियोमीले आकर्षक हेड गर्दै गोल गरेका थिए । उनको हेडर बललाई नियन्त्रणमा लिन विपक्षी गोलरक्षक निशान थापा मगर असफल देखिए । खेलको अन्तिम समयमा टिमका लागि महत्वपूर्ण गोल गरेका अबियोमी म्यान अफ दि म्याच घोषित भए । टिमको पहिलो गोलमा असिस्ट समेत गरेका उनले १० हजार नगद प्राप्त गरे ।

शेर्पाले अब फाइनल प्रवेशका लागि मकवानपुर ११ संग खेल्नेछ । भरतपुर फूटबल क्लबलाई पराजित गर्दै मकवानपुर ११ ले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

प्रतियोगिता अन्तर्गत मंगलवार अन्तिम क्वाटरफाइनल खेलमा ए डिभिजनको चर्च ब्वाईज युनाइटेड र नेपाल एपीएफ क्लबबीच भिड्नेछन् । एपीएफ १२औं जीतपुरसिमरा गोल्डकपको उपविजेता हो ।

प्रतिक्रिया दिनुहोस्