कर्मचारी पठाउन नसक्ने मन्त्रीले राजीनामा दिनुपर्छः नगर प्रमुख यादव


eShilalekh

२१ बैशाख २०८०, बिहीबार १०:३९

बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव ‘उपन’ ले बुधवार सामाजिक संजाल फेसबुकमा पाँच दलिय गठबन्धनका नेता र मन्त्रीलाई गढीमाई मन्दिर तथा नगर क्षेत्रभित्र प्रवेश निषेध गरिएको भन्दै स्टाटस लेखेका छन् । उपनिर्वाचनका क्रममा बैशाख ७ गते प्रधानमन्त्री पुष्पकमल दाहालसहित पाँच दलीय गठबन्धनका शिर्षस्थ नेतालाई गढीमाई मन्दिर प्रांगणमै भब्य स्वागत गरेका नगर प्रमुख यादवले १३ दिन नवित्दै प्रवेश नै निषेध गरिएको भन्दै स्टाटस लेखेका हुन् । नेपाली कांग्रेसबाट दोस्रोपटक नगर प्रमुखमा निर्वाचित यादवले आफ्नै पार्टी आवद्ध पाँच दलीय गठबन्धनका नेता तथा मन्त्रीलाई निषेध गर्दै लेखेको स्टाटस यस्तो छः ‘बारा जिल्ला क्षेत्र नं. २ मा महागढीमाई नगरपालिका अन्तर्गत श्री गढीमाई मन्दिरको प्रांगणमा तथा यस नगरपालिका क्षेत्रभित्र पाँच दलीय गठबन्धनका नेतागण तथा मन्त्रीज्यूहरुको प्रवेश निषेधित गरिएको कुरा सबैमा जानकारी गराउन चाहन्छु’ । नगर प्रमुखको उक्त स्टाटस यतिबेला चर्चाको विषय बनेको छ । यसै विषयमा रहेर हामीले महागढीमाई नगरपालिकाका नगर प्रमुख यादवसंग फोनमा कुराकानी गरेका छौ । प्रस्तुत छ नगर प्रमुख यादवसंग गरिएको कुराकानीः

गठबन्धनका नेता र मन्त्रीलाई गढीमाई मन्दिर र महागढीमाई नगरपालिका क्षेत्रभित्र निषेध गरिएको भनेर स्टाटस लेख्नुभएको छ, किन ?

महागढीमाई नगरपालिकामा चार महिनादेखी हाकिम (प्रमुख प्रशासकीय अधिकृत) छैन । हाकिम पठाइदिनका लागि चार महिनामा १५ चोटी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाईसकेको छु । मन्त्रालयमा आँउदा हामीसंग उल्टै उपसचिवको नाम मागिन्छ । मन्त्रालय उहाँहरु चलाउने, अनि कर्मचारीको नाम हामीले दिनुपर्ने ? कर्मचारी व्यवस्थापन त उहाँहरुले गर्ने हो । अहिले पनि त्यही कामको लागि काठमाण्डौं आएको छु, तर अहिले पनि अवस्था त्यस्तै छ । गठबन्धनका सबै नेतालाई भेटेर आफ्ना कुरा राखिसके । तर कसैले पनि सुन्दैनन् । जनता मरिसके तर नेतालाई स्थानीय तहको मतबल छैन । सबै भागबण्डामा मिलाउन व्यस्त छन् । जब महागढीमाई नगरपालिकामा गठबन्धनका नेताहरुको ध्यान छैन भने उहाँहरु नगरपालिकामा किन आउनुपर्यो ? त्यही पीडाले मैले लेखेको हो ।

अनि भर्खरै सम्पन्न बैशाख १० गतेको उपनिर्वाचनमा गठबन्धनका सबै नेतालाई महागढीमाईमा भब्य स्वागत गर्नुभएको थियो नि होईन ?

यो पीडा चार महिनादेखिको हो । निर्वाचनको बेलामा पनि हामी स्वागत गर्ने पक्षमा थिएनौ । मैले त्यतिबेला पनि नेताहरुलाई भनेको थिए, मान्छे आन्दोलनमा जान्छ, नेताहरु घेराउमा पर्छन् भनेर । प्रधानमन्त्री प्रचण्डको स्वकिय सचिवलाई पनि यो विषय जानकारी गराएको थिए । तर नेताहरुको अनुरोध पछि मैले स्थानीयलाई सम्झाए । पाहुना आउदैछन् नराम्रो गर्नु हुँदैन भनेर सम्झाएको हो । अनि मेरो कारणले कसैको चुनावी माहोल बिग्रिन्थ्यो भने त्यो पनि राम्रो हुदैनथ्यो । फेरी सबै दोष म माथी आउन सक्थ्यो । त्यसैले त्यतिबेला राम्रोसंग स्वागत गरेर पठायौं ।

नेताहरुलाई भेटेर समस्या राख्नुभएन ?

मैले सबैलाई भेटिसके । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सबैलाई भेटेर नगरपालिकाको समस्या नराखेको होईन । सबै नेतालाई जानकारी छ । तर जति भनेपनि समस्या कतैबाट सम्बोधन हुन सकेन । गठबन्धनको शिर्ष नेताहरु कोही पनि काम लाग्ने छैनन् भन्ने मैले बुझिसके । यो गठबन्धन जनतालाई सुख दिन होईन दुःख दिन बनेको हो । यति भनेर मलाई पार्टीबाट कारवाही हुन्छ भने कारवाही भोग्न तयार छु । म अहिले नै पदबाट राजीनामा दिन समेत दिन तयार छु ।

मन्त्रालयले चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन ?

नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सरुवा हुनुभन्दा एक महिना अगाडीदेखि कार्यालय आउन छाड्नुभयो । उहाँ काठमाण्डौमा बस्नुभयो । एक महिनापछि उहाँको सरुवा भयो, त्यसको केही समयपछि मन्त्रालयले अर्को प्रमुख प्रशासकीय अधिकृत मन्त्रालयले पठायो । तर सरुवा गरिएको हाकिम आउनुभएन । फेरी मन्त्रालय आएर अर्को हाकिम पठाउन अनुरोध गर्यौ । त्यसको केही समयपछि अर्को हाकिमलाई सरुवा गरियो । उहाँ पनि आउनुभएन । मन्त्रालयले सरुवा गर्ने तर कर्मचारी आउन नमान्ने । यो जिम्मेवारी कसले लिने ?

प्रमुख प्रशासकीय अधिकृत आउन नमान्नुको कारण के हो ?

त्यो हामीलाई थाहा छैन । मन्त्रालयले सरुवा गरेपछि कर्मचारी त आउनुपर्ने हो । कर्मचारी खटाएको ठाँउमा गयो कि गएन हेर्ने काम त मन्त्रालयको हो । तर मन्त्रालय आफूले गरेको निर्णय कार्यान्यवन गर्न सक्दैन । हामी मन्त्रालय आएर हाकिम माग गर्दा नयाँ पठाएका छौ केहि दिनमा आउनुहुन्छ भन्दै फर्काइन्छ । नगरपालिका पुगेर फोन गर्दा सरुवा भएका हाकिमले आउन सक्दिन भन्छ । अनि कसरी चल्छ स्थानीय सरकार । कि कर्मचारी पठाउनुपर्यो कि हामीलाई अधिकार दिनुपर्यो । हामीलाई अधिकार पनि नदिने अनि कर्मचारी पनि पठाउन नसक्ने । अनि जनता भोकभोकै मर्नुपर्ने ?

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कसरी चलेको छ नगरपालिका ?

नगरपालिका चलेको छैन, ठप्प छ । कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६ सय ५८ कर्मचारीले तलब खान पाएका छैनन् । शिक्षकहरुले सिडियो कार्यालयमा ज्ञापन बुझाएका छन् । धर्ना बस्न खोजेका छन् । त्यो संगै योजनाको काम अलपत्र छ । नगरपालिकाको दैनिक कामकाज प्रभावित बनेको छ । अनि यो पीडा कसले बुझ्ने ? गठबन्धनका नेतालाई त यो विषयमा मतलब छैन ? काम नै गर्न नसक्नेलाई मन्त्री बनाएको छ । काम नै गर्न नसक्ने व्यक्ति मन्त्री पदमा किन बस्ने ? म मन्त्रीको राजीनामा समेत माग गर्दछु ।

आर्थिक वर्ष सकिन दुई महिना बाँकी छ, योजनाको कति प्रतिशत काम सम्पन्न भएको छ ?

अहिलेसम्म पाँच प्रतिशत मात्रै योजना सम्झौता भएको छ । ९५ प्रतिशत योजना सम्झौता गर्न बाँकी नै छ । सबै मिलाएर झण्डै एक अर्बको बजेट फ्रिज हुने देखिएको छ । चार महिना हाकिम नहुँदा कसरी काम हुन्छ ? हाकिम भएको भए यो चार महिनामा धेरै काम हुन्थ्यो । पूर्वाधार निर्माणका ठुला योजनाहरु अब दुई महिनामा कसरी सम्भव हुन्छ ? हाकिम नभएको कारण १८ करोडको अस्पतालको टेण्डर रद्ध गर्नुपरेको छ । अब टेण्डर गरेर दुई महिनामा काम गर्न त सकिदैन । अरु योजनाको अवस्था त्यस्तै छ ।

संघीय सरकारबाट सहयोग नपाएपछिको पीडा हो स्टाटस ?

हो, यो भन्दा बढी पीडा के हुनसक्छ ? महागढीमाईमा नेता र मन्त्रीलाई पाहुना सम्झिएर स्वागत गर्नुपर्ने । खादा ओढाउने, खाजा खुवाउने । अनि उनिहरुले हामीलाई मान्दैनन् भने हामीहरुले उनिहरुलाई किन मान्ने ? हामीले काम गर्न सकेनौ भने जनताले नेताहरुलाई भन्दा पनि हामीलाई गाली गर्ने हो । स्थानीय सरकारमा हामी निर्वाचित भएका छौ । सबै जनताले यो समस्या बुझेका पनि हुँदैनन् । मन्त्रीलाई भेटन मन्त्रालय, मन्त्रीनिवास पुग्दा समेत भेटन गाह्रो छ । भेट भएपनि काम हुँदैन ।

अन्त्यमा के भन्नुहुन्छ ?
यो पाँच दलीय गठबन्धन जनताको लागि राम्रो संकेत होईन । जब मेयरकै हालत राम्रो छैन भने जनताको कसरी राम्रो हुन्छ ? प्रमुख प्रशासकीय अधिकृत माग गर्दै १५–२० चोटी आफै मन्त्रालय आईसके । तर काम हुन सकेको छैन भने के भन्ने ?

प्रतिक्रिया दिनुहोस्