सिमरामा कार्तिक १८ गतेदेखि स्क्राबल प्रतियोगिता हुने


eShilalekh

१६ कार्तिक २०८०, बिहीबार १४:४३

सिमरा: जीतपुरसिमरा २ स्थित लोटस एकेडेमीमा कार्तिक १८ गते राष्ट्रियस्तरको नवौं स्क्राबल प्रतियोगिता हुने भएको छ । स्क्राबल क्लब पोखराले २२ जिलाको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा बारा, सिरहा, रुपन्देही, सुर्खेत, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, ईलाम,चितवन, पाल्पा, काठमाडौं, पर्वत, भक्तपुर, कास्की, कैलाली, तनहुँ, धनुषा, दाङ, मोरङ, बाग्लुङ र पाँचथर जिल्लाको बिद्यालयका बिद्यार्थीहरुले सहभागिता जनाउँने आयोजकले जनाएको छ ।

प्रतियोगितामा २२ जिल्लाका एक सय ४० जनाको सहभागिता रहनेछ । आयोजक क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीका अनुसार प्रतियोगिताबाट छानिएका २० जना काठमाडौंमा हुने अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताको लागि छनोट हुनेछन् । नेपालमै पहिलो पटक माघ ५ र ६ गते चन्द्रागिरी नगरपालिकाको नैकापस्थित ब्राईट फ्युचर स्कुलमा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको छ ।

सन् १९३८ देखि अमेरिकाबाट सुरु भएको यस यस खेलमा २ देखि ४ जनासम्मले खेल्न सकिन्छ। १५/१५ साइजको बोर्डमा ए देखि जेड सम्मका एकसय वटा फण्ट टायलको प्रयोगबाट स्क्राबल खेल्ने गरिन्छ । नेपालमा भने करिब १० बर्ष अघि देखि प्रतियोगिताको रुपमा स्क्रायबल खेल्न सुरु भएको हो । स्क्राबल खेलले प्रतिस्पर्धीबीच भाषा विकास, सञ्चारको सिप, सहकार्य, नयाँ शब्द सिर्जना गर्न र अंग्रेजी भाषाको बिभिन्न क्रियाकलापमा सहयोग पुग्ने लोटस एकेडेमीका संस्थापक प्रधानध्यापक रामप्रसाद अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्