मधेश क्रिकेट लिगः सेमिफाइनमा पुगे यी चार टिम

सिमराः मधेश क्रिकेट लिगको सेमिफाइनमा पुग्ने चार टिमको टुंगो लागेको छ । लिग चरणको अन्तिम खेल सम्पन्न भएसंगै सेमिफाइनमा पुग्ने चार टिमको टुंगो लागेको हो ।
सेमिफाइनमा बारा, धनुषा, सप्तरी र रौतहट सेमिफाइनमा प्रवेश गरेका छन् । बारा १३ अंकसहित शिर्ष स्थानमा रहँदै सेमिफाइनमा प्रवेश गरेको हो । लिग चरणमा सात खेल खेलेको बाराले ६ वटा खेलमा जित हात पारेको थियो भने एक खेल वर्षाले विथोलिएको थियो ।
यसैगरी धनुषा सात खेलमा चार जित, दुई हार र एक बराबरीसहित ९ अंकका साथ दोस्रो स्थान हासिल गर्दै सेमिफाइनमा प्रवेश गरेको हो भने सप्तरी पनि समान नतिजा र अंकसहित तेस्रो हुँदै अन्तिम चारमा प्रवेश गरेको थियो ।
चौथा स्थान सुरक्षीत गर्दै सेमिफाइन प्रवेश गरेको रौहटले सात अंक बटुलेको छ । रौतहटले सात खेलमा तीन जित, तीन हार र एक बराबरीको नजिता निकालेको थियो ।
प्रतियोगितामा सहभागी अन्य चार जिल्ला पर्सा, सिरहा, महोत्तरी र सर्लाही लिग चरणबाटै बाहिरिएका छन् । पर्सा र सिहराले ७-७ अंक बटुलेपनि नेटरनरेटका आधारमा रौतहट अघिल्लो चरणमा प्रवेश गरेको हो । यसैगरी महोत्तरीले चार र पुछारमा रहेको सर्लाही अंकविहिन बनेको छ ।
फाइनल प्रवेशका लागि पहिलो स्थानमा रहेको बाराले मंगलबार रौतहटसंग खेल्नेछ । यसैगरी दोस्रो स्थानमा रहेको धनुषा र तेस्रो स्थानको सप्तरीबीच खेल हुने मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिए ।
मधेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा मधेश प्रदेश क्रिकेट संघले प्रतियोगिताको आयोजना गरेको हो । बाराको कलैया र पर्साको वीरगन्जमा भएको खेलमा मधेशका आठ जिल्लाको सहभागिता थियो । प्रतियोगिताको फाइनल खेल बिहीबार वीरगन्जमा हुनेछ ।
सम्बन्धित समाचारः