एलपी ग्यास ट्यांकर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


eShilalekh

१५ पुष २०८२, मंगलवार १०:३५

रौतहट: एलपी ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग मंगलबार बिहानदेखि अवरुद्ध भएको छ। रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक ट्यांकर दुर्घटना हुँदा राजमार्ग पूर्णरूपमा बन्द भएको हो।

ट्यांकर सडकको बीचमा पल्टिँदा सवारी आवागमन ठप्प भएको छ। ट्यांकरबाट ग्यास लिक भइरहेकाले थप दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए ।

राजमार्ग ठप्प भएपछी पूर्वतर्फबाट आएका सवारी साधनहरू चन्द्रनिगाहपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका सवारी साधनहरू धन्सार पुल नजिक रोकेर राखिएको छ।

दुर्घटनाग्रस्त ट्यांकर हटाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली घटनास्थलतर्फ आउँदै गरेको ट्राफिक प्रहरी निरीक्षक थापा मगरले जानकारी दिए। ग्यास लिक नियन्त्रण र ट्यांकर हटाएपछि मात्र सडक खुल्ने जनाइएको छ।

ट्यांकर नहटाउदासम्म यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा घटनास्थल नजिक नजान ट्राफिक प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्