क्रिप्टोमार्फत करोडौं आर्जन गरेका सेफविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा


eShilalekh

२८ माघ २०८२, बुधबार १३:२६

सिमराः बाराको कलैया उपमहानगरपालिका २० का २४ वर्षीय मोहम्मद सेफविरुद्ध करिब २० करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सेफले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भई गैरकानुनी रूपमा १९ करोड ८१ लाख रुपैयाँभन्दा बढी आर्जन गरेको अभियोग लगाएको हो ।

अभियोगपत्रमा सो बराबरको सम्पत्ति जफत गर्न, बिगोको दोब्बर जरिवाना गर्न तथा कसुरको गम्भीरता हेरी दुई वर्षदेखि १५ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ । साथै बरामद गरिएका मोबाइल फोन र सिमकार्डहरू समेत जफत गर्न माग गरिएको छ ।

प्रहरीले सेफलाई गत २०८२ मङ्सिर १० गते काठमाडौँको भद्रकाली क्षेत्रबाट शङ्कास्पद अवस्थामा पक्राउ गरेको थियो । उनको खानतलासी गर्दा बरामद भएका मोबाइलहरूको प्रारम्भिक जाँचमा ‘बाइनन्स’ (Binance) एकाउन्टमार्फत USDT, BONK र PEPE जस्ता क्रिप्टोकरेन्सीमा ठुलो परिमाणमा कारोबार भएको फेला परेको थियो ।

अनुसन्धानका क्रममा सेफले नेपालका स्थापित बैंकहरू प्रयोग गरी अवैध रकम ओसारपसार गरेको देखिएको छ । उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, मुक्तिनाथ विकास बैंक, सिद्धार्थ बैंक लगायत १० भन्दा बढी बैंकमार्फत कारोबार गरेको खुलेको हो ।

उनको बैंक स्टेटमेन्ट विश्लेषण गर्दा डेबिटतर्फ ६ करोड ६१ लाख र क्रेडिटतर्फ ६ करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबार देखिएको छ । प्रहरीलाई दिएको बयानमा सेफले करिब ८–९ महिनाअघि मुराध आलम नामक व्यक्तिमार्फत आफू यो क्षेत्रमा लागेको स्वीकार गरेका छन् ।

मुराधले क्रिप्टोमा राम्रो फाइदा हुने प्रलोभन देखाई बाइनन्स एकाउन्ट खोलिदिएको र त्यसपछि आफूले अरूलाई समेत डिजिटल मुद्रा बिक्री गर्न थालेको उनले बताएका छन् । यो काम गरेबापत उनले मासिक २०० देखि २५० अमेरिकी डलर पारिश्रमिक पाउने गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्