बालिका हत्या प्रकरण: पुरग्रेश चौधरी धरौटीमा र ९ जना साधारण तारेखमा रिहा


eShilalekh

२६ भाद्र २०८३, शुक्रबार ०९:५४

सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा पक्राउ परेका १० जनालाई बारा जिल्ला अदालतले रिहा गरेको छ । न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले प्रतिवादी बनाइएका प्रोग्रेश भनिने पुरग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य ९ जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

साधारण तारेखमा छुट्नेहरूमा पुरग्रेशका बुवा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममतासहित सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन रहेका छन् । घटनामा उनीहरूको संलग्नता देखिने पर्याप्त र ठोस प्रमाण नभएकाले रिहा गरिएको अदालतको आदेश पर्चामा उल्लेख छ ।

बालिकाका बुवा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई अपहरण, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालत पेश गरेको थियो । अदालतको आदेशपछि उनीहरू बिहीबार साँझ हिरासतमुक्त भएका छन् ।

यसअघि बुधबार सोही इजलासले घटनामा संलग्न भनिएका दुई नाबालकलाई भने मुद्दाको अन्तिम टुङ्गो नलागेसम्मका लागि वीरगञ्जस्थित बाल सुधार गृह पठाउने आदेश दिएको थियो । पक्राउ परेका दुई नाबालकमध्ये एक जनाले बालिकालाई चकलेट दिएर बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । उनको बयान घटनास्थल र शवको अवस्थासँग मिलेको प्रहरीले जनाएको छ । अर्का नाबालकले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।

गत साउन ३१ गतेदेखि हराएकी ती बालिकाको शव भदौ २ गते घरनजिकैको एउटा खाली घरमा भेटिएको थियो । घटनापछि देशभर विरोध प्रदर्शन भएको थियो । भदौ ६ गते गृह मन्त्रालयमा गृहमन्त्री, कानुनमन्त्री र प्रहरी महानिरीक्षकसहितको टोली र पीडित परिवारबीच तीन बुँदे सहमति भएपछि भदौ ७ गते बालिकाको अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्