९-१ को फराकिलो जितका साथ एपीएफ जीतपुरसिमरा महिला फूटबलको सेमिफाइनलमा प्रवेश

सिमरा: विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब जीतपुरसिमरा महिला फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा भारतको स्टेट स्पोर्ट्स प्रोमोसन सोसाइटी झारखण्डलाई ९-१ को फराकिलो अन्तरले पराजित गर्दै एपीएफले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
एपीएफको जीतमा रेनुका हमाल, रश्मीकुमारी घिसिङ र पूर्णिमा राईले समान २-२ गोल गरे भने गिता राना मगर, कुसुम खतिवडा र सरु लिम्बुले एक-एक गोल गरेका थिए । झारखण्डकी बबिता कुमारीले एक गोल फर्काएकी थिइन् ।
पहिलो हाफमा ३-१ को अग्रता बनाएको एपीएफले दोस्रो हाफमा थप ६ गोल गर्दै जित फराकिलो बनाएको थियो । पहिलो हाफमा एपीएफका लागि गीता राना मगर, कुसुम खतिवडा र रेनुका हमालले समान एक-एक गोल गरेका थिए भने झारखण्डकी बबिता कुमारीले एक गोल फर्काएकी थिइन् ।

दोस्रो हाफमा पूर्णिमा राई र रश्मि कुमारी घिसिङले दुई-दुई गोल गरे भने रेनुका हमाल र सरु लिम्बूले एक-एक गोल थपेका थिए । एपीएफकी रेनुका ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । उनलाई सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र गुप्ताले संयुक्त रूपमा पुरस्कृत गरेका थिए ।
प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेलमा आयोजक सिमरा भेट्रानले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।







