टिकटकमा हिंसा र धम्कीपूर्ण भिडियो फैलाउने एक युवक पक्राउ

जनकपुरः सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की तथा समाजमा हिंसा फैलाउने किसिमका विषयवस्तुहरू अपलोड गरेको आरोपमा प्रहरीले धनुषाबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ का अन्दाजी २१ वर्षका ‘काले’ भनिने पशुपति पासवान रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार टिकटक जस्तो खुला डिजिटल प्लेटफर्ममार्फत हिंसात्मक तथा धम्कीपूर्ण भिडियोहरू सम्प्रेषण गरेको पाइएपछि सोमबार बिहान उनकै घरबाट नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका पासवानमाथि अहिले थप अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कडा कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।







