केवाईसी अपडेट गर्ने बहानामा करिब ५० लाख रुपैयाँ ठगी, तीन जना पक्राउ

रौतहट: बैंक तथा डिजिटल वालेटको केवाईसी अपडेट गर्ने बहानामा सर्वसाधारणबाट करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत सीतामढी जिल्लाका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र रौतहट गौर-५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा पत्रकार सम्मेलनको आयोजना गर्दै पीडितहरूको उजुरीका आधारमा गत असोज २३ गते दिउँसो करिब ४ बजे गौर नगरपालिका-३ स्थित पोखरिया टोल र वडा नं. ५ कोइरी टोलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार हालसम्म परेका २२ वटा उजुरीको प्रारम्भिक अनुसन्धानबाट कुल ४९ लाख ८७ हजार तीन सय ३३ रुपैयाँ ठगी भएको पुष्टि भएको छ ।
पक्राउ परेकाहरूको साथबाट र डेराबाट प्रहरीले रु. एक लाख ६२ हजार दुई सय १० नेपाली र रु. तीन हजार दुई सय ३६ भारतीय नगदसहित सात थान मोबाइल, ११ थान सिमकार्ड, ३० थान बैंकिङ भौचर, विभिन्न बैंकका चेक तथा ठगीमा प्रयोग गरिएका फोन संवादका ‘स्क्रिप्ट’ र हिसाबकिताब लेखिएका डायरीहरूसमेत बरामद गरेको छ ।
पक्राउ परेका अभियुक्तहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाएर थप अनुसन्धान भइरहेको छ भने यस गिरोहका मुख्य योजनाकार र अन्य सहयोगीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
साथै अपरिचित व्यक्तिको फोनका भरमा आफ्नो ओटीपी, पिन, पासवर्ड नदिन र मोबाइल स्क्रिन सेयर नगर्न सर्वसाधारणलाई सचेत गराउँदै ठगीमा परेमा तुरुन्त प्रहरीमा सम्पर्क गर्न अपिल गरिएको छ ।







