महोत्तरीमा एक वृद्धाको शव फेला, अनुसन्धान सुरु

महोत्तरी: महोत्तरीको गौशाला नगरपालिका-१ सानो कुशमाडीस्थित उखुबारीमा शुक्रबार बिहान एक वृद्धाको शव फेला परेको छ ।
स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार बिहीबार घाँस काट्न घरबाट निस्केकी पुलामी उखुबारीमा मृत फेला परेकी हुन् । शवको प्रकृति हेर्दा गम्छाले घाँटी कसेर उनको हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । उनका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीको तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको छ ।





