सिमरामा श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सव हुने


eShilalekh

५ मंसिर २०८३, शनिबार १६:२१

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहस्थित नवनिर्मित श्रीकृष्ण मन्दिर परिसरमा ‘श्रीकृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय महोत्सव’ आयोजना हुने भएको छ । आयोजकले शनिबार मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी र उद्देश्यबारे जानकारी गराएको हो ।

करिब ६ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त विशाल मन्दिरलाई ‘बाबाजी लक्ष्मीधाम’ का रूपमा स्थापना गर्न लागिएको छ । मंसिर १० गतेदेखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा श्रीमत्तारतम सागरको १२५ पारायण वाचन गरिनेछ ।

महोत्सव मूल समारोह समितिका संयोजक जनार्दनजी शास्त्रीका अनुसार मंसिर १० गते बिहान भव्य कलश यात्रा निकालिनेछ भने नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलको उपस्थितिमा नवनिर्मित मन्दिरको उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

महोत्सवमा धर्मगुरुहरू आचार्य श्रीकृष्णमणिजी महाराजश्री र सूर्यनारायणदासजी महाराजश्रीले आशिर्वचन प्रदान गर्नेछन् । यसैगरी भारतस्थित श्रीकृष्ण प्रणामी धर्मका आचार्यपीठहरू श्री १०८ नवतनपुरी धाम, श्री १०८ महामंगलपुरी धाम र श्री १०८ पद्मावतीपुरी धामबाट महन्त, साधुसन्त, पण्डित, प्रचारक तथा विदुषीहरूको विशेष उपस्थिति रहनेछ ।

महोत्सवमा चौरासी पूजा, व्रतबन्धलगायतका विभिन्न धार्मिक अनुष्ठान हुनेछन् । १२५ पारायण सेवाका लागि ब्रम्हमुनीहरूको चयन समेत भइसकेको आयोजकले जनाएको छ ।

देशभरका विभिन्न स्थानबाट दैनिक करिब १५ हजार भक्तजनको सहभागिता रहने अनुमान गरिएको महोत्सवमा आउने पाहुनाहरूको व्यवस्थापनका लागि विशेष तयारी गरिएको छ । मूल समारोह समितिका महासचिव दीपकप्रसाद भट्टका अनुसार महोत्सव अवधिभर दैनिक करिब तीन हजार भक्तजनका लागि बसोबासको व्यवस्था मिलाइएको छ । आगन्तुकहरूलाई स्थानीय विद्यालय, मन्दिर, सहकारी संस्थाका सभाहल तथा स्थानीय भक्तालुहरूका निजी आवासमा समेत राख्ने प्रबन्ध गरिएको छ ।

आयोजकले महोत्सव सम्पन्न गर्न करिब डेढ करोड रुपैयाँ खर्च हुने र करिब पाँच करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । महोत्सवबाट बचत हुने रकमले मन्दिर वरपरको जग्गा खरिद गरी ‘बाबाजी लक्ष्मीधाम’ मा गुरुकुल सञ्चालन गर्ने मुख्य लक्ष्य राखिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै जीतपुरसिमरा-४ का वडाध्यक्ष भोजबहादुर खत्री (इश्वर) ले धर्म महोत्सवलाई सफल बनाउन सबै पक्षलाई आग्रह गर्दै यस्तो धार्मिक कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

पत्रकार सम्मेलनमा श्री १०८ सुरेन्द्र महाराजजी, यमनाथ भट्ट, उषा घिमिरे, प्रलाद शास्त्री, घनश्याम शास्त्री, पुरुषोत्तम शास्त्री, श्याम शास्त्री, मधुसुधन सिटौला, युवा समाजसेवी श्यामबाबु गुप्तालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सुमनप्रसाद सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्