बारामा ३९ लाखभन्दा बढी मूल्यका सामानसहित दुई ट्रक प्रहरीको नियन्त्रणमा

सिमराः बारा प्रहरीले विभिन्न स्थानबाट बिलविजक भन्दा बढीको सामान सहित दुई वटा मिनी ट्रक नियन्त्रणमा लिएको छ । सूचनाको आधारमा प्रहरीले पथलैया र इनर्वा चोकबाट ३९ लाख ८४ हजार मूल्य बराबरको समानसहित ट्रक नियन्त्रणमा हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आईतबार राति जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयामा प्रहरी चौकी पथलैयाले विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ०१–०२–००१ ख ८०८६ नम्बरको ट्रकलाई रोकेर जाँच गर्दा बिल विजकभन्दा बढी ३८ लाख १६ हजार रुपैयाँ बराबरको इलेक्ट्रोनिक सामान, कपडा, कफी तथा अन्य खुद्रा सामग्री ट्रकमा बरामद गरेको प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
यस्तै, बाराको महागढीमाई नगरपालिका २ इनर्वाबाट ना७ख ३४३९ नम्बरको मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । तेलकुवाबाट बरियारपुर जाँदै गरेको ट्रकबाट एक लाख ६८ हजार रुपैयाँ बराबरको सात टन आलु बरामद गरिएको हो ।
प्रहरीका अनुसार दुवै ट्रकमा रहेको सामनको स्रोत स्पष्ट नहुँदा तथा बिल भरपाईभन्दा बढी रहेका कारण ट्रकहरू नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिईएका सामानहरू राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता सापकोटाले जानकारी दिए ।