जिसस बाराको प्रमुख र उपप्रमुखमा एमाले विजयी


eShilalekh

३० जेष्ठ २०७९, सोमबार १६:१०

कलैयाः जिल्ला समन्वय समिति (जिसस) बाराको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । जिससको प्रमुखमा नरेन्द्रकुमार साह र उपप्रमुखमा चण्डिका उप्रेती निर्वाचित भएका हुन् ।

जिसस पदाधिकारी र सदस्य चयनका लागि सोमबार सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार साहले २० र उप्रेतीले १७ मत प्राप्त गर्दै जित हात पारेका हुन् । प्रमुखमा निर्वाचित साह कलैया उपमहानगरपालिका र उपप्रमुखमा निर्वाचित उप्रेती निजगढ नगरपालिकाको कार्यपालिका सदस्य हुन् ।

सोही पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामदयाल महतो धानुकले ९ र उपप्रमुख उम्मेदवार जनता समाजवादी पार्टीका पवनकुमार व्याहुतले १५ मत प्राप्त गरेका छन् । तीन दलबीच गठबन्धन भएपनि प्रमुख पदका उम्मेदवारले गठबन्धनको सबै मत प्राप्त गर्न सकेनन् ।

यसैगरी जिससको सदस्यमा जसपाका तीन, एमाले र लोसपाका दुई–दुई सदस्य निर्वाचित भएका छन् । जसपाका प्रदीपकुमार यादव, श्यामबाबु यादव र चन्देश्वर यादव निर्वाचित भएका छन् भने एमालेका सुमित्रा देवी र नेसा खातुन निर्वाचित भएका छन् । यसैगरी सदस्यमा लोसपाका प्रभा देवी साह र उमा देवी चमार निर्वाचित भएका छन् ।

निर्वाचनमा कांग्रेस, जसपा र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको थियो भने एमालेलाई लोकतान्त्रिक समाजवादी पार्टी र विवेकशील साझा पार्टीले सहयोग गरेको थियो । जिल्लाको १६ स्थानिय तहका ३२ जना प्रमुख र उपप्रमुख निर्वाचनमा सहभागी भएका थिए ।

जिल्लामा पाँच स्थानीय तहमा दुवै पद जितेको र एउटा पालिकामा उपप्रमुख पद जितेको एमालेसंग ११, चार पालिकामा दुवै पद जितेको कांग्रेससंग आठ, तीन पालिकामा दुवै पद जितेको जसपासंग ६, दुई पालिकामा दुवै पद जितेको लोसपासंग चार, एक पालिकामा दुवै पद जितेको विवेकशीलसंग र एक पालिकामा प्रमुख पद जितेको नेकपा माओवादी केन्द्रसंग १ मत रहेको थियो ।
निर्वाचनमा प्रमुख, उपप्रमुख र सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका थिए । कुल ३२ मत खसेको मतदानमा तीन मत बदर भएको थियो ।

जिल्ला समन्वय समिति बारामा निर्वाचित पदाधिकारी र सदस्यः
प्रमुखः नरेन्द्र कुमार साह (एमाले)
उपप्रमुखः चण्डिका उप्रेती (एमाले)
सदस्यः सुमित्रा देवी (एमाले)
सदस्यः नेसा खातुन (एमाले)
सदस्यः प्रदीपकुमार यादव (जसपा)
सदस्यः श्यामबाबु यादव (जसपा)
सदस्यः चन्देश्वर यादव (जसपा)
सदस्यः प्रभा देवी साह (लोसपा)
सदस्यः उमादेवी साह (लोसपा)

प्रतिक्रिया दिनुहोस्