सरकारको निर्णय पर्खदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना


eShilalekh

३ फाल्गुन २०८०, बिहीबार १२:३९

सिमराः विज्ञ समूहको प्रतिवेदनका आधारमा चार किल्लासहितको प्रस्ताव सरकारलाई पेश गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको कार्यालय यतिबेला सरकारी निर्णय पर्खेर बसेको छ ।

पहिलो चरणमा काम गर्न सकिने चार किल्ला क्षेत्रफल तोकेर माघ पहिलो साता संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयमा प्रस्ताव पेश गरेको परियोजनाको कार्यालय अहिले मन्त्रीपरिषद्ले गर्ने निर्णय पर्खेर बसेको हो । उक्त प्रस्तावमाथि मन्त्रीपरिषद्ले गर्ने निर्णय राजपत्रमा प्रकाशित हुने र राजपत्रमा प्रकाशित भएपछि निर्माणका प्रक्रिया अघि बढाउन बाटो खुल्ने भएकाले परियोजनाको कार्यालय सरकारको निर्णय पर्खेर बसेको हो ।

परियोजनाको सिमरास्थित कार्यालयका प्रमुख बिजयकुमार यादवले विज्ञ समूहको प्रतिवेदनका आधारमा सरंक्षित क्षेत्र र त्यसभित्र पहिलो चरणमा काम हुने क्षेत्रफलको चार किल्ला तोकेर मन्त्रालयमा प्रस्ताव पेश गरिएको बताए । यादवका अनुसार पसाहादेखि बकैयासम्मको नौ हेक्टर वन क्षेत्रफललाई संरक्षित क्षेत्र घोषणा गरेर टांयिाबस्तीसहित वरपरका भूभागलाई समेटेर एक हजार नौ सय ३३ हेक्टर क्षेत्रफलको चार किल्ला तोकिएको छ ।

एक हजार नौ सय ३३ हेक्टर क्षेत्रफलमा पहिलो चरणको काम सम्पन्न गर्न सकिने गरी प्रस्ताव पेश भएको हुँदा उक्त प्रस्तावमा मन्त्रीपरिषद्ले गर्ने निर्णय अनुसार अघि बढ्ने यादवको भनाई छ । ‘विज्ञ समूहको प्रतिवेदनलाई आधार बनाएर प्रस्ताव पेश गरेका छौ’ यादवले भने ‘अब मन्त्रीपरिषद्बाट निर्णय हुन्छ र राजपत्रमा प्रकाशित भएपछि मात्रै काम अगाडी बढ्नेछ ।’

मन्त्रीपरिषद्ले निर्णय नगरेसम्म मुख्य चुनौतीका रुपमा रहेको टांयिाबस्ती व्यवस्थापनलगायतका अन्य सम्पूर्ण प्राविधिक काम प्रभावित हुनेछ । सर्वोच्च अदालतले यसअघि भएका सम्पूर्ण काम खारेज गर्दै विज्ञ समूहको सुझावका आधारमा विमानस्थलको काम अघि बढाउन २०७९ जेठ १२ गते आदेश दिएसंगै सम्पूर्ण कार्य शून्यको अवस्थादेखि गर्नुपर्नेछ ।

बिजयकुमार यादव

सर्वोच्चको आदेश बमोजिम सरकारले २०७९ साउन २६ गते हवाई पूर्वाधारविज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा १० सदस्यीय विज्ञ समिति गठन गरेको थियो । समितिले प्रस्तावित क्षेत्रमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने उल्लेख गर्दै २०७९ असोज २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदन एक वर्षपछि २०८० कार्तिक २३ गतेको मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेको थियो ।

विज्ञ समूहको उक्त प्रतिवेदनकै आधारमा परियोजनाको कार्यालयले सरकारलाई चार किल्ला तोकेर पठाएको हो ।

यो पढ्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्